बारा जिल्ला , प्रदेश २

सिम्रौनगढ सभ्यता

एघारौँ शताब्दीको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक इतिहासका भग्नावशेषहरुको तस्वीर हो, सिम्रौनगढ । त्यति मात्र होइन, सिम्रौनगढ एउटा सभ्यता हो । सिम्रौनगढको मूर्तिकला शिल्प, शैली र संस्कृतिले नेपाली कला इतिहासको बेग्लै पाटो खोतल्ने अवस्था छ । सिङ्गो सिम्रौनगढको उत्खनन्, अध्ययन र संरक्षणले इतिहासका धेरै पाटाहरु खोल्दै जाने पक्का छ । पूरातत्व बिभागले सिम्रौनगढकाे बास्तबिकतालाइ उजागर गर्दै पर्यटकीय सम्भावना पहिल्याउन खाेजेकाे छ ।

सिम्रानगढको ऐतिहासिक स्थलहरू

सिम्रौनगढ

एघारौँ शताब्दीमा  अस्तित्वमा आएको राज्य हो, सिम्रौनगढ । हालः बारा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सिम्रौनगढ राज्य चौधौँ शताब्दीको पूवाद्र्धसम्म कला, संस्कृतिले सम्पन्न थियो । कर्णाटवंशी नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई राज्य स्थापना गरेका थिए । हाल यो क्षेत्र बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिव २२ किलोमिटर दक्षिणपूर्वमा पर्दछ । यो गढ क्षेत्रभित्र कोटवाली, लक्ष्मीपुर, भगवानपुर, देवापुर, हरिहरपुर, कर्चोवा, अमृतजंग र गोलागञ्जसहित केही साना गाउँहरु पर्दछन् । यो किल्ला उत्तरमा कोतवालीहुँदै श्रीनगर, नयकाटोला, खजहनी, झमरीलगायत गाउँहुँदै दक्षिणतर्फ नेपाल भारत सीमासम्म पुग्दछ । यद्यपि, सिम्रौनगढ क्षेत्रले भारतको चम्पारन, मजफरपुर, दरभङ्गा, भागलपुर र पूर्णियालगायत जिल्लाहरु पर्दछन् । बारा जिल्लाले सिम्रौनगढ नगरपालिका नामाकरण गरेर इतिहासको सम्मान गरेको छ । सिम्रौनगढ राज्यको अन्तिम राजा हरिसिंह देव हुन् ।


कङ्काली

शिखर शैलीको कङ्काली मन्दिर सिम्रौनगढको मुख्य बजार क्षेत्रमा रहेको छ । सो क्षेत्रकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको कङ्काली माईको मूर्ति केही खण्डित तर मर्मत गरिएको अवस्थामा रहेको छ । मन्दिरको भित्री भागमा रहेको काला पत्थर मूर्ति मूर्तिकलाको अनुपम नमूनाका रुपमा रहेको छ । सिम्रौनगढ राज्यमाथि १३ औँ शताब्दीमा भएको इस्लामिक आक्रमणबाट ध्वस्त भएको हो ।सुरुसुरुमा कङ्काली देवीलाई पशु बलि दिने प्रचलन रहेको थियो । पशु बलिपछि मन्दिर वरपर नै गाड्ने प्रचलन रहेको स्थानीय बताउँछन् । तुर्कहरुको आक्रमणपछि खण्डहर भएको सिम्रौनगढमा निकैपछि मानिसहरुको बसोबास हुन थाल्यो । त्यही क्रममा आएका मनसाराम बाबाले मन्दिरलाई व्यवस्थित गराएका थिए । सोही क्रममा उत्खनन् गर्दा राँगाका कङ्काल प्रसस्त मात्रामा पाइएको बताइन्छ । त्यही बेलादेखि नै सो मन्दिरलाई कङ्काली भन्न थालियो भन्ने भनाई रहेको छ । मनसाराम बाबा स्वयं वैष्णव भएकाले उनैले बलिको सट्टा सात्विक भोग चढाउने परम्परा चलाएका थिए । यस मन्दिरको पूर्वतर्फ प्राचीन घण्टा रहेको छ । सो घण्टामा लं.सं ११९ अर्थात् विक्रम सम्वत् १३४९ उल्लेख गरिएको छ । घण्टा केही टुटफुटको अवस्थामा देखिन्छ । सो मन्दिर क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका मूर्ति तथा वस्तुहरु यत्रतत्र छरिएर रहेका छन् । तिनको समुचित संरक्षणमा ध्यान दिन आवश्यक देखिन्छ ।


मनसाराम बाबाको समाधी/आश्रम:

कङ्काली मन्दिरको दाहिनेतर्फ इसरा तलाउ नजिक मनसाराम बाबाको समाधीस्थल रहेको छ । समाधी स्थललाई गुम्बज शैलीको मन्दिरभित्र संरक्षण गरिएको छ । जहाँ पहिला मनसाराम बाबाले अखण्ड धुनी बाल्ने गर्नुहुन्थ्यो । त्यही नै उहाँको समाधी गरिएको स्थानीय बताउँछन् । समाधीस्थलको केन्द्रीय भागमा केही उठेको जमिन देख्न सकिन्छ । त्यहाँ बाबाको खराउ समेत रहेको छ ।


इसरा तलाउ

कङ्काली देवीको मन्दिरको पूर्वमा विशाल तलाउ रहेको छ । यो करिव आठ विगाह जमिनमा फैलिएको छ । यो तलाउ सिम्रौनगढका राजा शिवसिंह (सिबैसिंह) ले आफ्नी प्रेयसी इसराको लागि एक असुरले एकै रातमा तयार पारेको किंम्बदन्ती यहाँ प्रचलित छ । पोखरीको पश्चिम दक्षिण किनारामा १६ ह१९ ह ७ इन्चका इँटाले घाट निर्माण गरिएको छ । तलाउको पश्चिम तर्फको खुला चौरमा हाटबजार र छठमा मेला लाग्ने गरेको छ । देख्दैमा सुन्दर तलाउमा ठेक्काबाट व्यवसायिक माछा पालनसमेत गरिएको छ । यस्तो ऐतिहासिक तलाउमा ठेक्काबाट माछा पाल्नुभन्दा डुँगा सयर गराएर पर्यटकीय आकर्षणका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।


पार्वती मन्दिर

कङ्काली मन्दिर परिसरमा पार्वती मन्दिर रहेको छ । इसरा तलाउ नजिक रहेको यो मन्दिरभित्र कालो पत्थरको आकर्षक मूर्ति रहेको छ । तर, केही खण्डित मूर्तिलाई मर्मत गरी पूजाआजा गरिदै आएको छ ।


शिव मन्दिर

कङ्काली मन्दिर परिसरमा शिव मन्दिर रहेको छ । मनसाराम बाबाको मन्दिरकै लहरमा रहेको शिव मन्दिरमा तीनवटा शिवलिङ्ग लस्करै राखिएका छन् ।


विष्णु मन्दिर

कङ्काली मन्दिरको देब्रेतर्फ विष्णुको मूर्तिसहितको मन्दिर रहेको छ । मनसाराम बाबाको समाधिस्थलसँगै दाहिने घुँडा टेकेको र नमस्कार गरेको अवस्थामा विष्णुको मूर्ति रहेको छ । यो मूर्ति पनि केही खण्डित अवस्थामा छ ।


ईनार

कङ्काली मन्दिर परिसरको देब्रेतर्फ ऐतिहासिक ईनार रहेको छ । विष्णुको मन्दिरको दक्षिणतर्फ रहेको यो इनार प्रयोग विहीन अवस्थामा छ । यसको संरक्षणसहित खोज अनुसन्धान आवश्यक छ ।


भैरव

खण्डित अवस्थामा रहेको छ । स्थानीयहरु यो मूर्तिको खण्डित रुपलाई भैरव भन्ने गर्दछन् । यो मन्दिर कङ्काली मन्दिर  परिसरमा इनारकै लहरमा रहेको छ ।


रनिबास

कङ्काली मन्दिरबाट करिव डेढ किलोमिटर पश्चिममा रनिबास मन्दिर रहेको छ । यो अलि उच्च स्थानमा रहेको छ । त्यस हिसावले सिम्रौनगढको राजाप्रसाद भएको सङ्केत गर्छ । यस मन्दिरका वरपर प्राचीन भग्नावशेषका साथै पुरातात्विक महत्वका सामग्री (माटाका खवटा, भाँडा, मूर्ति, मुद्रालगायत) पाइने गरिएको स्थानीय बताउँछन् । मन्दिरको पश्चिमतर्फको कुनामा (मन्दिरलाई घेरिएका सत्तलभित्रै) पुरातात्विक इनार समेत रहेको छ । त्यस्तै, मन्दिर प्रवेशको पूर्वतर्फको द्वारको दाहिनेतिर पनि पुरानो इनार रहेको छ । मन्दिर वरपर खण्डित मूर्तिहरु यत्रतत्र रहेका छन् । सो मन्दिरको पश्चिमतर्फ सुन्दर कमलपोखरी रहेको छ । पोखरी संरक्षणको अभाव देखिन्छ । पोखरीको छेवैमा रहेका धाराको केही अवशेष मात्र बाँकी छन् ।  शिकार खेल्न जाने क्रममा श्री ३ जङ्गबहादुर राणा सो स्थानमा पुगेका थिए । केही अग्लो स्थान भएकाले शिकार क्याम्प सोही स्थानमा बनाउने क्रममा दरबार र मन्दिरको भग्नावशेष पाइएको इतिहासविद्हरु बताउँछन् । शिकारकै क्रममा जङ्गबहादुर राणाको निधन भएपछि छोरा जीतजङ्गले बुबाको सम्झनामा राम मन्दिर निर्माण गराएका थिए । राम मन्दिरभित्रै राम सीताको मूर्तितिर फर्काएर जङ्गबहादुर र रानीहरुको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ । मन्दिरको वरिपरी सत्तलसमेत निर्माण गरी गुठीको व्यवस्था गरिएको थियो । तुर्क आक्रमणबाट ध्वस्त सिम्रौनगढको उत्खनन् गरी सो मन्दिर निर्माणका क्रममा प्राप्त मूर्तिहरुलाई मन्दिरको  बाहिरी भाग र वरपर स्थापित गरिएको बताइन्छ । मन्दिर बाहिरको चौघेरा सत्तलको दक्षिणतर्फको द्वारसँगै रहेको सिंहको अगाडि चालिस वर्षअघिसम्म एउटा शिलालेख रहेको स्थानीय बताउँछन् । त्यो शिलालेखमा नान्यदेवले राजधानी यही थलोमा बनाएको श्लोक कुँदिएको थियो भन्ने भनाई स्थानीय पाका व्यक्तिहरुको छ ।रनिबास मन्दिरको दक्षिणतर्फ हात्तीसार समेत रहेको छ । जीर्ण अवस्थामा रहेको यो हात्तीसार राणाकालीन समयमा निर्माण गरिएको थाहा पाउन सकिन्छ । भग्नावशेष अवस्थामा रहेको यो हात्तीसारको मर्मत गरी प्रयोगमा ल्याउन सकिन्छ ।


भवन

सिम्रौनगढ नगरपालिकाको निर्माणाधीन भवन । इशरा तलाउको दक्षिणतर्फ भवन बन्दै गरेको छ ।


हरिहरपुर

कङ्काली मन्दिरबाट करिव एक माइल पश्चिमोत्तर दिशामा हरिहरपुर गाउँ पर्दछ । यहाँ पुरातात्विक महत्वका भग्नावशेषहरु अहिले पनि देख्न सकिन्छ । केही अग्लो ढिस्कोमा विदेशी विज्ञहरुको सहयोगमा केही वर्षअघि पुरातत्व विभागले उत्खनन् समेत गरेको थियो । इँटहरुको पर्खाल देखिने ढिस्कोमाथि उत्खनन्को खाल्टो अहिले पनि रहेको छ । जहाँबाट कलात्मक ढुङ्गे स्तम्भ (थाम) भेटिएको थियो  । जसलाई सोही स्थानमा प्रतिस्थापन गरिएको छ । स्थानीयले भनेअनुसार भक्तपुरमा स्थापित तलुजा भवानी हरिसिंह देव भाग्ने क्रममा यहिँबाट लिएर गएका थिए ।


बाकस

हरिहरपुर क्षेत्रमा उत्खनन्कै बेला फेला परेको एउटा कलात्मक पत्थर रहेको छ । स्थानीयहरु त्यसलाई ढुङ्गाको बाकस वा तिजोरी समेत भन्छन् । वास्तवमा यो कुनै मन्दिरको ढोकाको ढुङ्गे सङ्घारजस्तो लाग्छ । यो ठाउँमा कतै खन्यो भने झुण्डका झुण्ड भँवरा निस्कन्छन् । त्यसैले यो स्थललाई तुलजा (तलेजु) भवानीको खण्डहर हो भनेर स्थानीयले भन्ने गरेका छन् । यो ढुङ्गाको बाकस चोरी गर्न आउनेहरुलाई नागले डसेर मारेका किम्बदन्तीहरु समेत स्थानीय सुनाउँछन् ।


खजहनी

यो गाउँ रनिबासबाट करिव एक किलोमिटर दक्षिणमा पर्दछ । कर्णाटवंशी राजाहरुले खजाना राख्ने ठाउँ भएकाले यस ठाउँको नाम खजहनी भएको जनविश्वास पाइन्छ । केही वर्षअघि एकजना किसानले कूलो खन्ने क्रममा एक मन जति सुन भेटेपछि त्यो लिएर भारत पसेको स्थानीय बताउँछन् । सो क्षेत्रमा माछा पोखरी खन्ने क्रममा केही न केही पुरातात्विक बस्तु तथा मूर्तिहरु अहिले पनि भेटिने गरिएको छ । खजहनी गाउँको वरपर विष्णु, शिव र दुर्गाका मूर्तिहरु पनि विगतमा भेटिएको स्थानीय बताउँछन् ।


कोतवाली

सिम्रौनगढको उत्तरमा रहेको कोतवाली केही उच्चा स्थानमा छ । सिम्रौनगढको सुरक्षाका लागि माटोको अग्लो ढिस्को बनाइएको स्थानीय बताउँछन् । यो कोतको टुप्पाबाट हेर्दा सिम्रौनगढको वरपर देख्न सकिन्छ । यो करिव एक सय मिटर ब्यास र १५ मिटर जति उचाईमा रहेको छ । जनश्रुतीअनुसार कर्णाटवंशी राजाहरुको कोटपाल रहने भएकाले यो थुम्कोलाई कोतवाली भनिएको हो । यो ढिस्कोमा इँटा, झिँगटी र पोलेका माटोका ठूलठूला गोलाहरु पाइने गरेको स्थानीय बताउँछन् । पर्खालले घेरिएको यो थुम्कोको उत्तरतर्फ इनार रहेको छ । थुम्कोको पूर्वतर्फ शिवलिंगसहित उमामहेश्वरको खण्डित मूर्ति रहेको तर अहिले त्यो पनि हराइसकेको स्थानीय बताउँछन् ।


सुरक्षा पर्खाल

कङ्काली देवीको मन्दिर अगाडि इसरा तलाउ छ । त्यसको पूर्व दक्षिणतर्फ सिम्रौनगढको सुरक्षा घेराका रुपमा माटैमाटोको उच्च ढिस्को रहेको छ । यो उत्तर दक्षिण फैलिएको  छ । यसलाई स्थानीयहरु तण्डुल पर्वत समेत भन्दछन् । सो स्थानमा खोस्रेर हेर्दा डढेको कालो चामल पाउन सकिन्छ भन्ने भनाई छ । यसरी डढेको चामलको क्षेत्र धेरैतिर फैलिएको बताइन्छ । रनिबास मन्दिर नजिकको प्रहरी चौकी निर्माणका क्रममा दुई फिट तल खन्दा समेत डढेको चामल पाइएको बताइन्छ ।