Let’s Build Your City

असारे फूल

June 9, 2021

Lagerstroemia indica L.
अङ्ग्रेजी नाम: Crepe Myrtle
परिवार: Lythraceae

उत्पत्तिस्थल र फैलावट

असारे फूल भारतीय उपमहाद्वीप, दक्षिणपूर्वी एसिया, चीन, कोरिया र जापानको रैथाने वनस्पति हो। असारे फूल व्यापक रूपमा व्यावसायिकरण गरिएको शोभनीय  झाडी वा सानो रूख प्रकृतिको वनस्पति हो जुन विश्वको धेरै उष्ण एवं उपोष्ण क्षेत्रहरूमा अनुकूलित र मिचाहा भएको छ। नेपालमा यो १००० देखि १५०० मिटरको उचाइमा पाइन्छ।

विवरण

परिपक्वतामा उचाइ: असारे फूल ३-८ मिटर अग्लो बढ्न सक्छ। कलिला बिरुवाहरू चाँडै बढ्छन् र प्रायः रोपण पछि पहिलो वर्षमा फुल्छन्।

आकार: यो फराकिलो फैलिएको झाडी वा सीधा भी आकारको वृक्षछत्र भएको सानो रूख, समतल सतह, गोलाकार, वा एक छेउमा तिखो आकारको भुईँ ढाक्ने बहु-काण्ड भएको, पतझर रूख हो।

फूल र फूल फुल्ने: चालू वर्ष बढेको टुप्पोको फराकिलो झुप्पामा फूल फुल्छ। फूल फुल्ने मौसम जुन–अगस्ट सुरु हुन्छ र अक्टोबर–नोभेम्बरमा फल लाग्ने गर्छ।

वन संवर्द्धन विशेषताहरू

खेती: यो समशीतोष्ण क्षेत्र देखि उष्ण क्षेत्र सम्म व्यापक रूपमा खेती गरिन्छ। यदि काठ राम्ररी छिप्पिएको छ भने सुषुप्त बिरुवाहरू -१० डिग्री सेल्सियससम्म मजबुत हुन्छन्। बिरुवा राम्ररी हुर्कनको लागि धेरै तातो र आर्द्र गर्मी चाहिन्छ। नयाँ बृद्धिलाई प्रोत्साहित गर्न कुनै पनि काँटछाँटको काम वसन्तमा राम्रोसँग गरिन्छ। बिरुवाहरू राम्रोसँग सर्दैनन् र माटो सहितको जरासँग सार्नु पर्छ।

माटो: पोषक तत्व कम भएको माटोमा फस्टाउँछ तर धेरै क्षारीय माटोमा राम्रो हुँदैन। रोपिएका बिरुवाहरू धेरै खडेरी सहनशील हुन्छन्। असारे एक व्यापक रूपमा रोपिने शोभनीय  झाडी वा सानो गैर-रैथाने रूख हो जुन रोपिएको स्थान भन्दा अन्यत्र हुर्किएको र संसारको उष्ण एवं उपोष्ण क्षेत्रहरूमा जलवायुको एक ठूलो विविधतामा बन्जर, अस्थिर क्षेत्र, खुला घाँसे मैदानहरू, र सडकको किनारमा अनुकूलित भएको छ। यसको ज्यादै छिटो बढ्ने र बाक्लो जरा प्रणाली छ जसले रैथाने प्रजातिहरूलाई विस्थापित गर्न सक्छ।

प्रसारण र वृक्षरोपण

फल पाक्ने बित्तिकै रोपिएमा बीजबाट सबैन्भन्दा राम्ररी प्रसारण हुन्छ। जब बिरुवाहरू संभाल्न पर्याप्त ठूला हुन्छन्, बिरुवाहरू अलग-अलग गमलामा राखिन्छन् र सार्नको लागि पर्याप्त ठूला नभएसम्म हुर्काइन्छन्। 

अंकुरण दर ताजा हुँदा १०% र ३ वर्ष पछि ४०% हुन्छ। बीजको जैविकत्वदोस्रो र तेस्रो वर्षमा राम्रो हुन्छ।

उत्पादन र प्रयोग

सेतो देखि हल्का खैरो काठ कडा हुन्छ जसको उत्कृष्ट गुणस्तरको उपयोगी काठ हुन्छ। काटेको र घाउ भएको ठाउँमा फूलको लेप लगाइन्छ। जरा तितो, विषनाशक र मूत्रवर्धक हुन्छ। रूखलाई औषधी र काठको स्रोतको रूपमा स्थानीय प्रयोगको लागि वनबाट कटान गरिन्छ। यो माटो स्थिरीकरण परियोजनाहरूमा प्रयोग गरिन्छ र एक अत्यन्त शोभनीय  बिरुवा हो, विशेष गरी यसको पुष्प प्रदर्शन र सफा हुने भएकोले मूल्यवान छ। न्यानो समशीतोष्ण देखि उष्ण क्षेत्रहरूसम्म सडक रूख आदिको रूपमा सामान्यतया बगैंचामा हुर्काइन्छ।

सहरी/कृषि वन प्रयोग

यो कमसल माटोमा फस्टाउन सक्छ, र यसको बाक्लो र टाढासम्म फैलिएको जरा प्रणाली हुन्छ जसले यसलाई भूक्षय  नियन्त्रण परियोजनाहरूमा रोप्नको लागि उपयोगी बनाउँछ।

हेभी मेटलहरूले प्रदूषित क्षेत्रहरूमा बढ्दा वनस्पतिले यी धेरै धातुहरूलाई यसले तन्तुहरूमा जम्मा गरेको देखाइएको छ। यसको यी धातुहरू हटाउने वा रोक्ने र माटोको उर्वरता पुनर्स्थापना गर्न मद्दत गर्ने माध्यमको रूपमा फाइटोरेमेडिएशन परियोजनाहरूमा प्रयोग गर्ने उच्च क्षमता छ।

थप अध्ययन

Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-04-27.

Shrestha, B. B., Uprety, Y., Nepal, K., Tripathi, S., & Jha, P. K. (2007). Phenology and water relations of eight woody species in the Coronation Garden of Kirtipur, central Nepal. Himalayan Journal of Sciences, 4(6), 49-56.

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu