कुसुम

12 months ago

Schleichera oleosa (Lour.) Oken
अङ्ग्रेजी नाम: Ceylon oak/ Lac tree
परिवार:  Sapindaceae

उत्पत्तिस्थल र फैलावट

कुसुम इन्डो-मलाया पारिस्थितिक क्षेत्रको रैथाने वनस्पति हो। यो हिमालयको तल्लो भेगमा प्रायः कम उचाइमा फैलिएको छ तर यदाकदा समुद्र सतह माथि १,२०० मिटर सम्म पनि फैलिएको पाइन्छ। नेपालमा यो १५० मिटरदेखि ९५० मिटरसम्म पाइने जनाइएको छ।

विवरण

परिपक्वतामा उचाइ: कुसुम ढिलो बढ्ने, केही समय पतझर हुने र ३५ मिटर उचाइ हुन सक्ने ठूलो रूख हो । प्राय: बाङ्गो र मजबुत हुने काण्ड २ मिटर सम्म व्यास हुन सक्छ, तर सामान्यतया कम हुन्छ।

आकार: कुसुम एउटा ठूलो आकारको पतझर रूख हो। यो फराकिलो, छहारी युक्त वृक्षछत्र भएको सुन्दर रूख हो।

फूल र फूल फुल्ने: यदि फल र बीज आवश्यक भएमा भाले र पोथी रूखहरू हुर्काउन आवश्यक छ। फूल साना हुन्छ, छोटो बाक्लो पहेँलो झुप्पा फुल्छ। फूल शायदै देखिने हुन्छ। फल करिब एक सानो आरुको आकारको हुन्छ।

वन संवर्द्धन विशेषताहरू

खेती: यो वार्षिक दिनको तापक्रम ३०-४२ डिग्री सेल्सियसको बीचमा हुने ठाउँहरूमा राम्रोसँग बढ्छ तर यसले १०-४७ डिग्री सेल्सियस सहन सक्छ। सुषुप्त रहँदाको समयमा, यो वनस्पति करिब -४ डिग्री सेल्सियसमा बाँच्न सक्छ, तर कलिलो बिरुवालाई -१ डिग्री सेल्सियसमा नराम्ररी क्षति पुग्न सक्छ। यसलाई औसत वार्षिक वर्षा १,२००-२,३०० मिमि चाहिन्छ तर ७५०-२८०० मिमि सहन सक्छ। यो घमाइलो स्थान र हल्का छहारीमा पनि फस्टाउँछ।

माटो: पानीको राम्रो निकास भएसम्म बिरुवाले विभिन्न प्रकारको माटो सहन सक्छ तर गहिरो, उर्वर, पर्याप्त जैविक पदार्थ भएको अम्लिय माटोमा राम्ररी बढ्छ। यो अपेक्षाकृत सुक्खा देखि दलदल स्थानहरूको विभिन्न प्राय: ढुङे, ग्राभल, दोमट, राम्रो निकास भएको, अम्लिय माटोमा बढ्छ। यसलाई ५.५-६.५ पिएच चाहिन्छ र ५-७.८ सहन्छ।

प्रसारण र वृक्षरोपण

बीज जुनदेखि अगस्त सम्म संकलन गर्न सकिन्छ। एक किलोग्राममा १४००-२२०० बीजहरू हुन्छन्। तयार गरिएको माटोमा बीज सोझै रोपेर प्रसारण गर्न सकिन्छ। यो आगो प्रतिरोधी रूख हो।

उत्पादन र प्रयोग

कलिला पातहरू र मुन्टाहरू सुपको रूपमा पकाइन्छ वा वफाएर भातसँग खाइन्छ। पाकेको फल काँचै खाइन्छ। बीजको चूर्ण कीरा हटाउन घाउमा र गाइवस्तुको अल्सरमा लगाइन्छ। बीजबाट निकालिएको तेल परम्परागत औषधीको रूपमा चिलाएको, दुखेको र अन्य छालाको दुखाई निको पार्न लगाइन्छ। तेलले तालुमा मसाज गरे कपाल उमार्न सहयोग पुर्‍याउँछ भनिन्छ। बिरुवामा न्यून ट्यानिन हुने भएकोले यसलाई पशुको लागि डालेघाँसको रूपमा दिन सकिन्छ।

सहरी/कृषि वन प्रयोग

यसको सुन्दर वृक्षछत्र बनावटले यस प्रजातिलाई सहरी रोपणका लागि उपयुक्त वनस्पति बनाएको छ। 

थप अध्ययन

Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-04-23.
Meshram, N., Ojha, M., Singh, A., Alexander, A., & Sharma, M. (2015). Significance and traditional medicinal properties of Schleichera oleosa. Asian Journal of Pharmaceutical Research, 5(1), 61-64.
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.  

Share :