Let’s Build Your City

प्याङगाउँ

February 24, 2023

गाेदाबरी नगरपालीका 

बज्रबाराही मन्दिर

काठमाडौँ उपत्यकाभित्र धुमबाराही, निलबाराही, स्वेतबाराही र बज्रबाराही गरी चार बाराही छन् । त्यसमध्ये बज्रवाराही मन्दिरको बेग्लै विशेषता छ । यो मन्दिर गजुरविनाको छ ।

ललितपुरको गोदावरी  नगरपालिका–११ चापागाउँको घना जङ्गलको बीचमा बज्रबाराही मन्दिर रहेको छ । यस मन्दिरमा तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिन्छ । मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिला मूर्ति छ । 

इतिहासमा उल्लेख भएअनुसार यस मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले नेपाल सम्वत् ७८६ चैत्र शुक्ल सुदि ८ सोमबारका दिन निर्माण गर्न लगाएको पाइन्छ । प्यागोडा शैलीको मन्दिर ने.सं. ८५२ मा विष्णु मल्लले मर्मत गराएको पाइन्छ । यिनैले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अघिल्तिर पारी ने.सं. ८३२ मा स्थापना गरेको कुरा शिलालेखमा उल्लेख छ ।

हिन्दू मन्दिरमा प्रायः गजुर राखिएको पाइन्छ । यद्यपि, यस मन्दिरमा गजुर छैन । किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिएपछि आहाल पुरेर मन्दिर बनाइयो । मन्दिर बनाउँदाबनाउँदै बिहान भएर भाले बासेपछी गजुर हाल्न नभ्याइको भन्ने कथन छ ।

दशैँको बेला बज्रबाराही मन्दिरमा भक्तजनको  भिड लाग्छ । चैत पूर्णिमाको दिन बज्रवाराही माताको जात्रा लाग्ने गर्छ । सो मन्दिरमा आपूmले पालेका गाई भैँसीको दूध चढाए, त्यो प्रत्येक वर्ष गर्भवती हुने र प्रशस्त दूध दिने जनविश्वास रहेको पाइन्छ ।

बज्रबाराही सामुदायिक वन

यो ठाउँमा बिभिन्न ४८ किसिमका चराचुरुङ्गी र करिब १६६ किसिमका वनस्पति पाइन्छन् । यो जङ्गल पानीको स्रोतको रुपमा समेत रहेको छ । जङ्गललाई वनभोज स्थलका रुपमा समेत विकास गरिएको छ । ज्योतिदय संघ ज्योति विहारद्वारा यो वन संरक्षित छ ।

१९.५ हेक्टर क्षेत्रफलमा फैलिएको घना जङ्गलमा जडिबुटी र दूर्लभ प्रजातिका वनस्पती पाइन्छन् । गुराँस, पैयुँ, काफल, निगालो, लप्सी, फिसपाम (सुपारी), जामुन, सिरिस, कालीकाठ, मयल, वरपिपल, भलायो, उत्तीस, चुत्रो, हाडेबयर, विजयसाल, जङ्गली कटुस, चिलाउने, लाखेसीलगायत प्रजातिका वनस्पती पाइन्छन् । यहाँ सुगा, सारौ, हलेसी, चिवे, लाहाँचे, कुटुके, लाटोकोसेरो, काकाकुल, हुच्चील, न्याउली, खरानी रंगको जुरेली, लिप्से चरा, ढुकुर, गाजले चरा, कोक्ले, चुईया, कोइली,, जमलकाठे, रानीचरी, धोवी चरा, लामपुच्छ्र्र्र्रे, तामे ढुकुर, गिद्ध, फिस्टो, उड्कालगायत चराचुरुङ्गी पाइन्छ । यो वनमा स्याल, वनविरालो, मलसाँप्रो, चितुवाजस्ता जङ्गली जनावर समेत पाइन्छ ।

ठेचो

ललितपुरको प्राचीन वस्तीको रुपमा ठेचो रहेको छ । लगनखेलबाट दक्षिणतर्फ लाग्दा चापागाउँ नपुग्दै ठेचो गाउँ आउँछ । ठेचोको नवदुर्गा भवानीको १२ वर्षे जात्रा महत्वपूर्ण सांस्कृतिक सम्पदा मानिन्छ । यो जाना सुरु गर्ने क्रममा ३४ जना गुठीयारले स्नान गरी चोखो भएर सामूहिक बाजासहित भवानीको तान्त्रिक विधिबाट पूजा गरिन्छ । नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिपूर्वक पूजा गर्ने क्रममा मन्दिरमा ताल्चा लगाएपछि जात्रा सुरु भएको मानिन्छ । यो मन्दिरमा १२ वर्षे जात्रामा एकपटक मात्रै ताल्चा लगाइन्छ । यसबाहेक अन्य वर्षमा भने सबै ३ सय ६५ दिनै मन्दिर भक्तजनका लागि खुला रहने गरेको छ ।

जात्रा सञ्चालनका लागि नवदुर्गा भवानी गुठी समेत रहेको छ । जात्राको सुरुको दिनमा नवदुर्गा भवानीका गुठीयारले राष्ट्रप्रमुखलाई सुपारी चढाउने प्रचलन छ । 

यो जात्रा सुरु भएपछि ठेचोवासीका लागि विभिन्न बन्देज लाग्छ । जात्रा अवधिभर नवदुर्गा गुठीको बाहेक बस्तीमा अन्य बाजाका साथै घण्ट, सिठ्ठी, ताली बजाउन नहुने, बिहे, व्रतबन्ध र भोजभतेर गर्न नहुने प्रचलन रहेको छ ।

जात्राका क्रममा विभिन्न १३ देवगणको नृत्य गराइन्छ । नवदुर्गा नाचमा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बघिनी, इन्द्रायणी र श्वेत भैरव रहेको नवदुर्गा भवानी नाच प्रदर्शन गरिन्छ । १२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिने चलन छ । पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गरिन्छ । 

बुँ (खेत)

प्याङगाउँ र बुलुगाउँको पूर्वतिर विशाल फाँट छन् । यी फाँटहरु विशेषगरी प्याङगाउँ र बुलुगाउँका मानिसका खेत हुन् । यी फाँट विस्तारै आवासको रुपमा विकास हुँदैगएको छ । २०७२ सालको भूकम्पपछि खेतीयोग्य गहिरा फाँटमा वस्ती विकास बढेको हो । नत्र उचा ठाउँमा बसोबास र गहिरो पानी लाग्ने, परेको पानी जम्ने ठाउँमा खेती गरिने परम्परा रहिआएको थियो । यी खेतमा प्रायः गहुँ, धान, आलु, प्याजलगायत तरकारी खेती गरिन्छ । यहाँ रैथाने प्रजातिको ताइचिन धानको खेती अझै पनि कतैकतै गरिन्छ । 

बुलु

चापागाउँभित्रै बेग्लै सांस्कृतिक महत्वको बुलु गाउँ छ । यो गाउँलाई शिवपुर समेत भनिन्छ । बुलुमा रहेको चारमुखे शिवको मूर्तिलाई पशुपतिभन्दा अघिको हो भन्ने विश्वास र किंवदन्ती रहेको छ । 

किंवदन्तीअनुसार मञ्जुश्रीले चोभारको डाँडो काटी काठमाडौँको तलाउको पानी कटाइयो । तलाउमा पानी खट्दै गएपछि शिवको उत्पत्ति भएको र सो गाउँलाई शिवपुर भनिएको जनविश्वास छ । 

तालमा रहेका नागराजलाई तान्त्रिक विधिपूर्वक ललितपुरको बज्रबाराही पूर्वतर्फको नागदहमा राखिएको जनविश्वास छ । नागदह धापाखेल गाउँमा रहेको छ । मञ्जुश्रीले सन्तानेश्वर र बाँडेगाउँबीचको पहाड समेत काटेर गोदावरीतर्फको तलाउको पानी कटाएको जनविश्वास रहीआएको छ । 

बुलु गाउँमा चैत एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरव र छम्पी गणेशको जात्रा हुन्छ । बुलुको मुख्यचोकमा एकादशीको दिन हार्खाद्यो (भैरव) लाई खट बनाई राखेर पूजा गरिन्छ । पूजा गरिसकेपछि गुठियारले भोज खान्छन् । जात्रा वर्षको एकपटक गरिन्छ । 

ढुङ्गेधारा (प्याङगाउँ पूर्वउत्तरको ढुङ्गेधारा)

संरक्षित सानो जङ्गल मुनी उत्तरतर्फ फर्किएको कलात्मक ढुङ्गेधारा छ । यद्यपि, यो कहिले बनेको हो भन्ने यकिन छैन । मर्मत र संरक्षण गरिएको धारामा नारायणको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ । यद्यपि, ढुङ्गेधाराको संरचना हेर्दा यो धारा मल्लकालिन हो भन्ने अड्कल गर्न सकिन्छ । उत्तर तर्फ फर्केको ढुङ्गेधारा स्थानीयको पानीको मुख्य स्रोतको रुपमा रहेको छ । भूकम्पपछि विस्तार भएका नयाँ वस्तीमा धारा जडान नभएकाले अधिकांशले अहिले पनि यहि धाराको पानी खान, नुहाउन र कपडा धुन प्रयोग गर्दछन् । 

प्याङगाउँका मानिसको धर्मकर्म, संस्कार र संस्कृतिसँग समेत यो धाराको सम्बन्ध रहिआएको छ । प्याङगाउँमा चार ग्वाङ (गोत्र) का नेवारको खास बसोबास छ । यिनीहरुको घरमा सुत्केरी हुँदा लुगाधुने र चोखिने कार्यमा समेत यहि धारा प्रयोग गर्ने गरेका छन् । 

पोखरी

धाराको पश्चिमतर्फ सानो पोखरी पुरिएको अवस्थामा छ । यो पोखरीमा भैँसी आहाल राख्न प्रयोग गरिन्थ्यो । पोखरीको डिलमा बूढो काब्रोको बोट थियो । पहिरोले काब्रोको बोट पनि ढलेको र पोखरी समेत पुरिएको बताइन्छ । मृतक परेको घरमा चोखिने बेला समेत यहि धारा र पोखरी नजिकै चौरमा खर्पन (पुरुष सदस्य मर्दा) र नाङ्लो (महिला सदस्य मर्दा) फाल्ने गरिन्छ । 

चन्दुको कुवा

ढुङ्गेधाराबाट प्याङ्गाउँतर्फ उकालो लाग्दा दाहिनेतर्फ यो कुवा रहेको छ । स्थानीय चन्द्रसिंह महर्जनले खनाएको हुनाले यो कुवालाई स्थानीय चन्दुको कुवा भन्छन् । पूर्व जनप्रतिनिधि चरसुन्दर महर्जनको बुबाले यो कुवा खनाएका हुन् । यो कुवाको पानी अहिले खास प्रयोगमा छैन । 

अजासिंह कुवा

ढुङ्गेधाराबाट प्याङगाउँतर्फ उकालो लाग्दा दाहिनेतर्फ बाँसको झ्याँङ नजिकै पुरानो कुवा रहेको छ । स्थानीय माइला महर्जनका अनुसार यो कुवालाई अजासिंह कुवा भनिन्छ । स्थानीय अजासिंहले सय वर्षभन्दा अघि यो कुवा खनाएका हुन् । स्थानीयले यो कुवाको पानी लुगाधुन र नुहाउन प्रयोग गर्दैआएका छन् । 

तामेबाँस

प्याङगाउँको खास परिचय प्याङ हो । प्याङ बनाउन प्रमुख कच्चा पदार्थका रुपमा बाँसको प्रयोग हुन्छ । खासगरी प्याङ बनाउन तामे बाँस आवश्यक हुन्छ । प्याङगाउँ वरपर शताब्दीऔँदेखि कै तामेबाँसको ठूला ठूला झ्याँङ देख्न सकिन्छ । एउटा बाँसको मूल्य तीन सय रुपियाँजति पर्छ । यो बाँसको मुना ठूलो आकारको हुन्छ । 

चापागाउँ

लिम्छवीकालिमा नै विकास भएको वस्तीका रुपमा चापागाउँलाई लिन्छ । चापागाउँमा प्राप्त शीलालेखबाट यो थाहा हुन आउँछ । चापागाउँको पुरानो नाम चम्पापुर हो । 

ललितपुरको लगनखेलबाट दक्षिणतर्फको चापागाउँ पुरानो वस्तीका रुपमा लिइन्छ । सुनाकोठी, ठेचोहुँदै चापागाउँ पुग्न सकिन्छ । भक्तपुरका राजा राजदेव मल्लले चम्पापुरमा नेपाल सम्वत् ७११ मा राज्य चलाएको पाइन्छ । स्थानीय पाका व्यक्तिका भनाई अनुसार भक्तपुरका राजाको जेठा छोरा जन्मिएपछि ज्योतिषले मूल्याहा परेकाले मुख हेर्नु हुँदैन भनेपछि राजदेव मल्ल, कर्माचार्य र देसारलाई चम्पापुरमा ल्याएर राखिएको हो ।

चापागाउँमा मठ, मन्दिर, धारा, पोखरीजस्ता प्रसस्त सम्पदा रहेका छन् । दक्षिण ललितपुरका साथै तराईको व्यापार समेत कुनै समयमा हुने गरेको चापागाउँका सम्पदा संरक्षणको आवश्यकता रहेको छ । 

प्याङगाउँ

लगनखेलबाट ९ किलोमिटर दक्षिणमा पर्ने प्याङगाउँ नेवार समुदायको बस्ती हो । यहाँको भाषा अन्यत्रका नेवारको भन्दा पृथक छ । उनीहरूको पुख्र्यौली पेसा, सीप र ज्ञान नै प्याङपाथी बनाउने हो । यद्यपि, सिल्बर र प्लास्टिकका भाँडाले बजार कब्जा गरेसँगै प्याङ सङ्कटमा परेको छ । साविकको चापागाउँ गाउँ विकास समिति–५ प्याङगाउँ हाल गोदावरी नगरपालिका ११ मा पर्दछ ।

प्याङगाउँको स्थापना सम्बन्धमा आगँछे (कुलदेवता) देवघर, कालेश्वर मन्दिरको नजिक पाटीको शिलालेखलाई आधार लिन सकिन्छ । सो पाटीको शिलालेखमा नेपाल सम्वत १२२ लेखिएको छ । भाषा, संस्कृतिसम्बन्धी खोजकर्ता स्थानीय माइला महर्जनका अनुसार दक्षिण ललितपुरको शंखु भन्ने स्थानबाट करिव तीन सय वर्षअघि आएर प्याङगाउँमा बसोबास थालेको हुनसक्छ । उनीहरुले नै दक्षिण ललितपुरको कालेश्वर महादेवलाई प्याङगाउँमा पुनस्थापना गरेका हुन् भन्ने जनविश्वास छ । प्याङगाउँलेका कूलदेवताका रुपमा रहेका कालेश्वर महादेव मन्दिरमा कूलपूजाका लागि अहिले पनि प्याङगाउँले पुग्ने गर्दछन् ।

देय छेँ

प्याङगाउँमा कालेश्वर महादेवको दुईवटा देव घर छ । देउता राखिने घरलाई देव घर भनिन्छ । नेवारीमा यसलाई देय छेँ भनिन्छ । हरेक वर्षको जात्रापछि कालेश्वर महादेवलाई देव घरमा ल्याएर राखिन्छ । यसरी राख्दा दुईवटा देव घरमा पालैपालो राखिन्छ ।

तीन फल्चा

प्याङगाउँको बीचमा तीनवटा फल्चा (फली, फल्सी) अहिले पनि देख्न सकिन्छ । पहिला त पाँच वटा जति थिए । केही भत्किए । गाउँबीचको फल्चामा बसेर स्थानीय महिला, ज्येष्ठ नागरिक गफगाफ गर्दछन् । खासगरी दिउँसो र बेलुका फल्चा महिला तथा ज्येष्ठ नागरिक बसेर गफ गर्दछन् । 

नासः द्यो

प्याङगाउँको बीच भागमा नासः द्योको सानो मन्दिर छ । नासःद्यो भन्नाले नेवार समुदायमा नाच, गान या सिर्जना कर्ममा लाग्नुअघि नासः द्योको पूजा आरधना गर्ने प्रचलन रहेको छ । 

गणेश मन्दिर 

प्याङगाउँकाे बीच भागमा रहेकाे गणेश मन्दिर । यहाँकाे नेवार समुदायले कुनै पनि शुभ कार्य गर्नुअघि गणेशकाे पूजा गर्ने परम्परा रहेकाे छ । यहाँ दैनिकजसाे प्याङगाउँका महिलाले पूजाआजा गर्दैआएका छन् ।

कालेश्वर महादेव

ललितपुरको प्याङगाउँले कालेश्वर महादेवलाई आराध्यदेवका रूपमा पुज्दछन् । कालेश्वर महादेव उनीहरुका कूल देवता हुन् ।

काठमाडौँमा इन्द्रजात्रा चलिरहँदा प्याङगाउँमा कालेश्वर महादेव जात्रा चलाउने परम्परा रहेको छ । इन्द्रजात्राकै छनक दिनेगरी परम्परागत सांस्कृतिक उत्सवका रुपमा कालेश्वर महादेवको जात्रा बर्सेनि मनाइन्छ । सजाइएको खटलाई प्याङगाउँका घरआँगनसम्म नचाउँदै र्पुयाइन्छ । खटजात्रा क्रममा पुजारीद्वारा घन्टी बजाउने तथा चमर डोलाउने कार्य हुन्छ । परम्परागत बाजागाजा तथा चिराग बत्तीको अगुवाइमा खटजात्रा अघि बढाइन्छ । गाउँको छेउछेउमा रहेका दुईवटा देवता राख्ने घरमा छ–छ महिनाको फरकमा कालेश्वर महादेवका मूर्तिलाई राख्ने गरिन्छ ।

कालेश्वर महादेवको जात्राका समयमा प्याङगाउँको मूल बजार क्षेत्रमा जमिनबाट अग्लो मण्डप बनाई विभिन्न देवीदेवताका काठका पुराना मूर्तिहरू राख्ने गरिन्छ । जात्रा अवधिभरि तिनलाई खुला रूपमा प्रदर्शन गरेर राख्ने गरिन्छ । 

इन्द्रजात्राको शुभारम्भमा हनुमानढोका दरवारस्थित कालभैरव सामुन्ने लिङ्गो गाड्ने चलन छ । त्यसैगरी प्याङगाउँमा पनि सोही दिन दुईवटा लिङ्गो गाडेर कालेश्वर महादेव जात्रा सुरु गरिन्छ । सोही दिन आफ्ना नातागोतालाई घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन रहेको छ । त्यसै दिनबाट परम्परागत लाखेनाचको प्रदर्शन अत्यन्त रोचक किसिमबाट गरिन्छ । जात्रा सुरु भएको तेस्रो दिन यहाँ परम्परागत नाचको भव्यतासाथ प्रदर्शन गरिने प्रचलन थियो । तर आर्थिक, सामाजिक तथा अन्य विविध कारणले गर्दा अहिले मौलिक देवीनाचलगायत अन्य नाचको प्रदर्शन कार्य लोप हुने अवस्थामा पुगेको छ ।

स्थानीय बाल्मो गुठीका गुठियारले परम्परागत नाच देखापछि परम्परागत जात्रा सम्पन्न हुन्छ । यो नाच रातिको समयमा प्रदर्शन गरिन्छ । त्यसबीच लिङ्गो पनि ढालिन्छ । यो जात्रालाई व्यवस्थित किसिमले सञ्चालन गर्न यहाँ तीनवटा गुठी छन् । ती गुठीले जात्राका लागि आवश्यक काम गर्दछन् । 

जनजीवन

काठमाडौँ उपत्यकाको उत्तरतर्फको प्याङगाउँले अहिले पनि ग्रामीण र आत्मनिर्भर जनजीवनको जिवन्त तस्वीर बोकेको छ । यहाँका कतिपय मानिसले अहिले पनि पराल (धानको नाल) बाट गजरा, सुक्कुल, गुन्द्री बनाउने गर्दछन् । मकैको खोस्टा (मकै बाहिरको खोल) बाट चकटी बनाउँछन् । 

यहाँका अघिल्ला पुस्ताका मानिसले प्याङ बनाउने सीप प्रायःमा थियो । प्याङका साथै आफूलाई आवश्यक डोका, थुन्से समेत निगालोबाट यहाँका मानिसले अहिले समेत बनाउँछन् ।  

प्याङगाउँको घर अगाडि मकैको थाङ्ग्रा राखिएको देख्न सकिन्छ । काठका घोचा (थाङ्ग्रा) गाडेर त्यसमा मकै कुन्यू लगाउने गरिन्छ । भूकम्पपछि मकैका थाङ्ग्रा कमै देखिन्छ । यद्यपि, मकैका थाङ्ग्रा अहिले पनि देख्न सकिन्छ । 

यहाँका कतिपय महिलाले दिउँसो फुर्सदको समय कपासबाट धागो कात्ने कामलाई समेत नियमित गरिरहेका छन् । जाडो मौसममा आँगनमा घाम ताप्दै धागो कात्ने काम गरिरहेका महिला आजकाल समेत देख्न सकिन्छ । 

भूकम्पपछि यहाँका पुराना घर भत्किएका थिए । नयाँ धेरैजसो घर पक्की बनाइएका छन् । पुराना घर इँट र माटोका गारो थिए । कतिपय घरमा तिकिझ्या पनि देख्न सकिन्थ्यो । खपडा र झिँगटीका छाना थिए । त्यस्ता घरको अघिल्तिर खुर्सानी, लसुन, प्याज झुण्डयाएर सुखाउन राखिएका आकर्षक दृश्य देखिन्थे । घर अघिल्तिर वरण्डामा फर्सी राखिन्थे । बुइगलमा भान्सा हुन्थ्यो ।

केहीले पुरानो शैलीका घरलाई समेत नयाँ स्वरुपमा जोगाएको देख्न सकिन्छ । यस्ता घर बनाउन खर्चका हिसावले केही महङ्गो समेत पर्न आउँछ । 

यहाँका कतिपय महिलाले घरबुना हाकुपटासी समेत लगाएको देख्न सकिन्छ । पुरुषले दाउरा सुरुवाल, इस्टकोट लगाएको पाइन्छ । यहाँका महिलाले आफ्नो हात, पाखुरा, गोडा, पिडौलामा परम्परागत रुपमा नाम लेखाउने या चिन्ह खोपाउने गरेको पाइन्छ । यस्तो प्रचलन नेपालका अन्य जातिका महिला समुहमा समेत पाइन्छ ।

पहिला यहाँका मानिस भैँसी पाल्थे । खेतीका लागि गोठे मल बनाउँथे । यद्यपि, अहिले भैँसी पालेको पाइन्न । यहाँ अहिले पनि हाँस पाल्ने गरेका छन् । केहीले भेडा र बाख्रा पालेको देख्न सकिन्छ । 

मान बहादुर महर्जन

प्याङगाउँका ८४ वर्षीय मानबहादुर महर्जनकाे सानाेतिनाे खेती छ । उनी अझै खेतीकाे काममा गइरहन्छन् । फुर्सदकाे समय प्याङ बनाउनुहुन्छ । उहाँसँग प्याङ बनाउने परम्परागत सीप र ज्ञान छ । प्याङगाउँमा प्याङ बनाउने पाका पुस्तामा उनी एक्लै हुन् । जाे उहिलेदेखि अहिलेसम्म प्याङ बनाइरहनुभएकाे छ । अहिले त प्याङ गाउँमा प्याङ बनाउन युवाले पनि सिकिसकेका छन् । किशाेर किशाेरीले पनि सिकेका छन् । मानबहादुर महर्जनले प्याङ बनाउने गुरुका रुपमा धेरैलाइ प्याङ बनाउन सिकाइसक्नुभएकाे छ । 

प्याङ

प्याङ अर्थात बाँसका गिद्रा (चोया निकालेर बाँकी रहेको भित्री भाग) को प्रयोग गरी बनाइएका बट्टा । प्याङलाई स्थानीयले पोंचा भन्छन् । रैथाने सीप, ज्ञान र कच्चा पदार्थबाट बनाइने प्याङ एक समय नेपाली समाजमा दैनिक प्रयोगमा थिए । 

विशेषगरी प्याङका मानापाथी वस्तुको मापन गर्न प्रचलनमा थिए । जसलाई राज्यले समेत मान्यता दिएको थियो । यद्यपि, चोखो भाँडाका रूपमा प्याङको प्रयोग मन्दिरका बहुमूल्य गरगहना थन्क्याउन, वैद्यले औषधि राख्न, किसानले बिउबिजन, पुर्जा तमसुकजस्ता महत्वपूर्ण कागजात सुरक्षित गर्न र घरायसी प्रयोजनमा समेत थिए ।

बाँसबाट यस्ता भाँडा बनाउने नेवार समुदायको बसोबास क्षेत्र हो, ललितपुरको प्याङगाउँ । पाँच दशकअघि यहाँका प्रायः सबैले प्याङ बनाउने गर्थे । प्याङगाउँलेहरू सातुसामल बोकेर प्याङ बनाउने बाँस खोज्दै दक्षिण ललितपुरका गोटीखेल, संखुका गाउँगाउँ चहार्थे । मकवानपुरका भित्री मधेशका जङ्गल पुगेर प्याङ बनाउने ‘हापा’ तयार पार्थे । सुसेली हाल्दै भारी बोकेर उकालो लाग्दा ‘हापा’ को ‘कुइँकुइँ’ आवाजसँगै उनीहरू फर्कन्थे, प्याङगाउँ । ८८ वर्षीय मानबहादुर महर्जन ती दिन सम्झनुहुन्छ, “महिनौँ दिन जङ्गलमा बसेर हापा बनाइन्थ्यो । कति ठूलाठूला बाँस । बाँसकै ढुङ्ग्रामा पानी बोकिन्थ्यो । हामीलाई जङ्गल जान सरकारले छुट दिएको थियो ।”

प्याङ विक्रीका लागि उपत्यका आसपासका गाउँ सहर बनेपा, धुलिखेल, पनौती, खड्पु, दाप्चा, साँखु, फर्पिङ, टिस्टुङ, पालुङ, धादिङ, त्रिशूलीसम्म पुग्थे प्याङगाउँले । त्यो बेला पैसामा होइन प्याङ दिएर अन्न लिने चलन थियो । 

राज्यले वन संरक्षणको नीति लिएपछि जङ्गलमा बाँस काट्न प्रतिबन्धित लगायो । जसले गर्दा प्याङगाउँले पनि आफ्नो पेसाबाट विस्थापित बने । लामो समय जागिरपछि प्याङगाउँ फर्केका जीतबहादुर  महर्जन भन्नुहुन्छ, “सानैमा सिकेको हो प्याङ बनाउन । अब गाउँ फर्केर प्याङ बनाउन सिकाइरहेको छु ।”

प्याङ बनाइन्छ यसरी

प्याङगुरु मानबहादुरका अनुसार प्याङ बनाउन कलिलो तामे बाँस आवश्यक हुन्छ । यो बाँस भालूले अति मन पराउने भएकाले भालूबाँस पनि भनिन्छ । युवा अवस्थाको बाँस माघतिर काट्नुपर्छ । अरू महिनामा काटिएको बाँस काम लाग्दैन । 

चुप्पीको सहायताले बाँसलाई टुक्रा बनाएपछि ‘हापा’ तयार पार्ने प्रक्रिया सुरु हुन्छ । स्थानीय जीतबहादुरका अनुसार चक्कुको सहायताले बाँसको बाहिरी भाग (चोया) निकालिन्छ । बाँकी रहेको भित्री ढुङ्ग्रोलाई माथिदेखि तलसम्म एकतर्फी काटिन्छ । यसलाई आगोमा सेकाउँदै फैलाउने (पाता बनाउने) काम गरिन्छ । त्यसका लागि काठको चिम्टाले थिचेर पाता बनाइन्छ । यसरी बनाइएको पातालाई ‘हापा’ भनिन्छ । ‘हापा’ तयार भएपछि सियो र चोयाको सहायताले आवश्यकताअनुसारको प्याङ बनाइन्छ । 

प्याङको पुनर्जीवन

प्याङगाउँले आफ्नो परिचयको पुनर्बहाली गर्ने प्रयास गरिरहेको छ । साविकको चापागाउँ गाउँ विकास समिति–५ प्याङगाउँ हाल गोदावरी नगरपालिका ११ मा पर्दछ । नगरपालिकाको सहयोग र स्थानीय महादेव युवा क्लबको अग्रसरतामा युवा पुस्तालाई प्याङ तालिम दिएको छ । स्थानीय कला, संस्कृतिविज्ञ माइला महर्जनले पनि दशकअघि प्याङको संरक्षण र प्रवद्र्धनमा केही प्रयास गर्नुभएको थियो । माइला महर्जन भन्नुहुन्छ, “समयानुकूल विकास गर्दै यसलाई जोगाउन र व्यावसायिक रूपमा बजार प्रवद्र्धन गर्न युवा पुस्ताको ध्यान जान आवश्यक छ ।”

तत्कालीन चापागाउँ गाविसका पूर्व अध्यक्ष एवं प्याङगाउँका स्थानीय चरसुन्दर महर्जनले पनि प्याङ संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । उहाँ  भन्नुहुन्छ, “प्याङ त हाम्रो पहिचान हो । रैथाने सीप, ज्ञान र प्रविधि हो । यसलाई समयको मागअनुसार व्यावसायिक बनाउन आवश्यक छ ।”

बेलाबेलाको तालिमपछि प्याङगाउँमा प्याङ बनाउन जान्ने २५ जना जति हुनुहुन्छ । उहाँहरूसँग ममः राख्ने बक्सथाली, ममः बनाउने भाँडा, मसला राख्ने बट्टा, उपहार प्याक गर्ने प्याङजस्ता सामग्री मागअनुसार बनाउने सीप छ । तालिमपछि मागअनुसार प्याङ आपूर्ति गर्न सकिने अवस्था रहेको प्याङगाउँ सांस्कृतिक युवा समाजका सम्पूर्ण महर्जन बताउनुहुन्छ । प्याङगाउँमा प्याङकथा बताउने एक्ला बाजे हुने, मानबहादुर । उहाँले धेरैलाई प्याङ कथा सुनाइसक्नुभयो । गाउँमा घुम्न आउने पर्यटक अनि पत्रकारलाई प्याङकथा बताउने मानबहादुर भन्नुहुन्छ, “म त अब बूढो भएँ, १४ वर्षको उमेरदेखि प्याङ बनाउन थालेको हो । प्याङ बनाउने सीप छाडेर जान चाहन्छु । तपाईं पनि सिक्ने हो ?”

तिर्थ भक्त महर्जन 

घर बनाउने काम गर्दै आउनुभएका कृष्णभक्त महर्जन तीन वर्षदेखि प्याङ बनाउन थाल्नुभएकाे छ । उहाँकाे बाजेले प्याङ बनाउने गर्नुहुन्थ्याे । तर उहाँकाे बुबाले याे काम गर्नुभएन । अहिले उहाँले प्याङ मात्र हाेइन बजारकाे माग र बाँसबाट बनाउन सकिने हस्तकलाका अन्य सामग्रीसमेत बताउने प्रयासमा हुनुहुन्छ । गाउँटाेलमा हुने तालिममा समेत प्रशिक्षककाे रुपमा काम गर्दै आउनुभएकाे छ ।