Let’s Build Your City

बिरुवा रोप्नको लागि विस्तृत मार्गदर्शन

July 1, 2021

प्रक्रिया सुरु गर्नु अघि,  जमिन वा स्थानमा बिरुवाहरू छनोट गर्ने, खरिद गर्ने, र रोप्न सुरु गर्नु अघि उद्देश्य स्पष्ट हुनु आवश्यक छ। बिरुवा रोप्ने, फाईदा र लाभ विश्लेषण गर्नु पर्दछ । के उद्देश्यबाट वृक्षरोपण गर्ने हो जस्तै  सहरी वन हरियाली गराउने उद्देश्य, व्यावसायिक उद्देश्य, सांस्कृतिक उद्देश्य, र अन्य के उद्देश्यका लागि भन्ने स्पष्ट हुनु पर्दछ । उद्देश्य अनुसार प्रजातिहरू भौगोलिक प्रकृति एवं भौगोलिक अवस्थितिको आधारमा चयन गरिनु पर्दछ। यदि तपाईंको क्षेत्र वरिपरिको वातावरण तथा भौगोलिक भूधरातलमा हुने बिरुवाहरूको विवरणहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, यहाँ क्लिक गर्नुहोस्।

वृक्षरोपण स्थल छनोट 

  • उपयुक्त प्रजातिहरू नेपालका तीन पर्यावरणीय भौगोलिक क्षेत्रहरू जस्तै तराई, शिवालिक र भित्री मधेस, मध्य पहाड र मध्य-उपत्यका र उच्च हिमाली क्षेत्र कहाँ हो त्यसमा आधारित छनोट गर्नुपर्नेछ।
  • छनोट गरिने प्रजातिहरू स्थानीय गुण, स्थानीय हावापानी, उचाइ, अवस्था र भिरालो क्षेत्रहरू सहित औसत वर्षाको आधारमा उपयुक्त हुनुपर्दछ।  
  • सामान्यतया, कस्तो खालका स्थलहरू उपलब्ध छन् जस्तै भिरालो, सिम र अन्य प्रकारका भू-भागहरूको वास्तविक स्थल विशेषताहरू पहिचान गरिनु पर्दछ।
  • बिरुवाहरूको विकास र ती स्थलहरूमा अनुकूलनका लागि माटो सबैभन्दा महत्त्वपूर्ण हुन्छ; त्यसकारण, वृक्षरोपण स्थलको माटोको पिएच मान (अम्लीय वा क्षारीय) जस्ता गुणहरू पहिचान गरिनु पर्दछ।नेपाल सरकारबाट तयार गरिएको माटोको नक्सालाइ आधार लिन सकिन्छ । 
  • वृक्षरोपण गर्नु अगावै वृक्षरोपण स्थलको बुट्यान र झाडी हटाएर सफा गर्नुपर्छ। यदि आवश्यक भएमा छेकबारको प्रबन्ध गरिनु पर्छ।

प्रजाति छनोट

  • स्थानीय / रैथाने प्रजातिहरूलाई वृक्षरोपणको लागि प्राथमिकता दिनुपर्दछ; सम्भव भएसम्म स्थानीय/ रैथाने प्रजातिहरू छनोट गर्नुपर्नेछ । यसबाट मिचाहा प्रजातिको रुपमा फैलिने र रोग वा किराको खतरा हुने छैन। स्थानीय प्रजातिहरूमा रोग र किराको हमला प्रति छिटो अनुकूलन हुने र प्रतिरोध क्षमता हुन्छ।
  • जलवायु परिवर्तनको असर कम गर्न र स्थानीय वातावरणमा अनुकूलित हुनको लागि रैथाने प्रजातिहरू वृक्षरोपणका लागि उपयुक्त मानिन्छ।
  • गुणस्तरीय बिरुवाको उत्पादनको लागि प्लस ट्री ( राम्रो अवस्था र आकारका बिउ उत्पादन गर्ने रुखहरू) बाट बीउ संकलन गर्नुपर्दछ। रुख राम्ररी बढ्नको लागि बिउ सबैभन्दा महत्त्वपूर्ण कारक हो।
  • बिरुवा उत्पादन गर्नु भन्दा पहिले नै संकलित बिउको प्रकृति अनुसार उचित बिउ प्रशोधन, भण्डारण र पूर्व-प्रशोधनका लागि सावधानी अपनाउनुपर्दछ।

बिरुवा उत्पादन छनोट

  • पोलिब्यागको आकार नर्सरीमा बिरुवा रहने अवधिको आधारमा चयन गरिनु पर्छ; जस्तै ३x७ इन्च र ४x७  इन्च आकारको  ब्याग बिरुवा रहने  एक वर्ष भन्दा कम अवधिको लागि र  ५x८,  १० × १०, १० × १२ वा १२ × १२ इन्च एक वर्ष भन्दा बढी अवधिको  लागि उपयोग गर्नु पर्दछ।
  • कलमी गरिएका र जरा तथा  टुप्पो काटिएका ( Root and shoot cutting) बिरुवा सिधै नर्सरीमा हुर्काउन सकिन्छ।
  • गुणस्तरीय बिउ उत्पादनको लागि नियमित सिँचाइ, गोडमेल, छहारीको व्यवस्था, जरा-छाँटकाँट र बिरुवाहरु समय समयमा स्थानान्तरण गरी बलियो बनाउनु आवश्यक छ।
  • वृक्षरोपणपूर्व नर्सरीमा बिरुवाहरूको पहिले नै छनोट गर्नुपर्दछ अन्यथा बाँकी रहेका बिरुवाहरूको गुणस्तर र स्वस्थ प्रकृति राम्रो नहुन सक्छ।
  • सामान्यतया एक फिट अग्ला बिरुवाहरू लगाइन्छन्; यद्यपि  सहरमा र सडक किनारामा ३  फिट वा  सो भन्दा अग्ला बिरुवा रोप्न सिफारिस गरिएको छ।
  • सहरमा वृक्षरोपण गर्न बिरुवा उपलब्ध गर्नको लागि अग्लो वा बहु- वर्षे बिरुवा उत्पादन गर्न एकदेखि तीन वर्ष लाग्छ। कहिलेकाहीँ नर्सरीमा तीन वर्ष भन्दा बढी राख्नु पर्ने हुन सक्छ। २००० मिटर उचाइ भन्दा  माथिका उच्च पहाड तथा हिमाली क्षेत्रमा बिरुवाको सही साइजका लागि धेरै वर्ष राख्नु पर्ने हुन्छ।

वृक्षरोपण स्थलको तयारी

  • स्थानीय रूपमा उपलब्ध उपकरणहरू जस्तै कोदालो, गैँची, बेल्चा , खन्ती  आदी खाडल खन्न प्रयोग गर्न सकिन्छ । 
  • आधुनिक उपकरणहरू जस्तै खाडल खन्ने मेशिनहरू पनि प्रयोग गर्न सकिन्छ।
  • सामान्यतया, नेपालमा खाडल वृक्षरोपण गर्नु भन्दा पहिले नै खन्ने गरिन्छ। पहिले खाडल खने नयाँ बिरुवाको जरा पहिले नै नरम भइसकेको माटोसँग सम्पर्कमा रहनेछ, विशेषगरी कडा माटोमा बिरुवा रोप्नु अगाडि माटो नरम हुनु आवश्यक छ। यसरी खाडल खन्दा बिरुवा रोपिसके पश्चात धेरै समयसम्म बिरुवाको वरिपरि झारपात उम्रन पनि पाउदैन।
  • खाडल  खन्ने योजना वृक्षरोपण गर्नु भन्दा करिब १५  दिन अघि गर्नुपर्छ। कहिलेकाहीँ खाडल  खन्ने काम एक वा दुई दिन अघि पनि हुन सक्छ।यसको निर्धारण उपलब्ध कामदारहरु, स्थान तथा कामको मात्रामा पनि भर पर्दछ । 
  • कम्तिमा एक हप्ता भन्दा बढीको फरकमा वृक्षरोपण गर्नको लागि खाल्डाहरू  तयार पार्न सिफारिस गरिन्छ। यसले राम्रोसँग व्यवस्थापन गर्नको लागि  वृक्षरोपण स्थलहरूलाई  अनुगमन र सुधार गर्न सहायता गर्छ।

खाडलको प्रकार, आकार खाडल बीचको दुरी

  • खाडलको आकार सहरी क्षेत्रहरूमा सामान्य आकार भन्दा फरक हुन सक्छ किनभने फुटपाथ र सडक किनारामा बिरुवाको प्रकार र बृद्धि अनुसार  ग्रेट  प्रयोग गर्नुपर्दछ।
  • प्रजातिको प्रकृति र बिरुवाको बृद्धि अनुसार मजबुती र वृक्षरोपणको  प्रकार सहित सकेसम्म शोभा दिने गरी बराबर दुरीमा हार मिलाएर बिरुवा रोप्नुपर्छ।त्यस अनुरुपको दुरी हुनु पर्दछ । 
  • दुरी कति राख्ने भन्ने वृक्षरोपणको उद्देश्यमा निर्भर गर्दछ जस्तै यदि हामीले चाँडो बढ्ने प्रजातिको  व्यवसायिक उत्पादन गर्नुपरेमा दुरी सामान्य भन्दा नजिक हुनुपर्दछ।
  • सामान्यया २.५ x २.५ मिटरको दुरीलाई प्राथमिकता दिइन्छ।तर सहरमा सडकहरुमा ३ मिटर देखी ५ मिटरसम्म पनि राख्न सकिन्छ । अझ सहरमा भवनहरुबाट विरुवाहरु टाढा नै रोप्नु पर्दछ किनकी यसको जराले घर तथा भवनको पर्खाल र जगलाइ नै भत्काउने तथा नोक्सान गर्न सक्ने हुन्छ । 
  • यदि बिरुवाको मजबुती धेरै छ, झाँगिएको छ भने दुरी सामान्य भन्दा धेरै हुनुपर्दछ।दुरीको निर्धारण विरुवा बढेर रुख हुँदा कति अग्लो हुन्छ तथा कतिको हाँगा विँगाहरु झाङ्गिने गर्दछ त्यसले निर्धारण गर्दछ । 
  • दुरी सिधा हुने गरी पङ्क्तिबद्ध हुनुपर्छ। 

नर्सरीबाट वृक्षरोपण स्थलमा बिरुवा ढुवानी

  • पोलिथिन व्यागमा उमारिएको  वा सारिएको बिरुवा,  हाँगा विँगाबाट उमारिएको बिरुवा, माटो रहित जरा मात्र भएको बिरुवा, कलमी बिरुवा रुट स्टकहरु नै प्रमुख प्रकारका विरुवाहरु हुन् । 
  • वृक्षरोपण गर्नको लागि नर्सरीमा  बिरुवा वा पोलिब्याग वा कलमी बिरुवा छुट्ट्याउनुपर्दछ र कम्तिमा २ देखि दिन भन्दा पहिले देखि नियमित पानी हाल्नु पर्छ।
  • यदि पोलिब्यागको बिरुवा रोप्नु छ भने, प्रत्येक पोलिब्याग च्यातिएको र फुटेको छ कि भनेर निरीक्षण गर्नु पर्दछ।किनको पोलिव्यागको माटो हल्लिएको तथा जराहरु खल्बलिएको छ भने विरुवा रोपिहाले पनि वाँच्ने दर ज्यादै कम हुन्छ । 
  • प्रत्येक बिरुवा स्वस्थ र राम्रो आकारको हुनुपर्दछ।विरुवाहरु हेर्दा नै थाहा हुन्छ । 
  • ढुवानीको साधनमा  बिरुवा राख्ने र झिक्ने बेलामा सावधानी अपनाउनुपर्दछ। जहिले पनि बिरुवाको सट्टा पोलिब्यागहरूमा नै हातले समाउनु पर्दछ । ठूलो साइजको पोलिव्याग रहेको छ भने दुबै हातले पोलीब्यागलाई समाउनु पर्दछ । कतिपयले विरुवाको काण्ड तथा डाँठमा समाएर यता उता गरेको देखिन्छ यो नितान्त राम्रो विधि होइन ।  
  • नर्सरीदेखि वृक्षरोपण स्थलसम्म बिरुवा ढुवानी सवारीसाधन वा भरियाहरू (डोको) द्वारा गर्न सकिन्छ। यदि डोको प्रयोग गरिएमा समान आधार बनाउन डोकोको तल्लो भागमा पराल वा पराल जस्तै कुनै वस्तु राख्न सकिन्छ।  
  • सहरहरूमा जहाँ सवारी साधनहरू; जीप, ट्रयाक्टर, कतै कतै तराइ तथा भित्री मधेशमा गोरु गाडाहरूमा बिरुवाहरू ढुवानी गर्न प्रयोग गरिन्छ,  यसरी ढुवानी गर्दा बिरुवाहरू  उपयुक्त प्रकारका  ट्रेमा राख्नुपर्छ (३०x४५ सेमी)। (ठूलो आकारको हुन सक्छ) । आजकाल अन्य प्रकारका ट्रेहरू तरकारी र किराना पसलहरूमा पनि उपलब्ध छन्। 
  • बिरुवाहरू ढुवानी गर्नु अघि पानी हाल्नु पर्छ र विरुवा ढुवानी गरिरहेको सवारीसाधनको गति कम हुनुपर्छ अन्यथा बिरुवाहरू ढुवानीको समयमा सुक्नेछन्। सम्भव भएसम्म नागबेली र कच्ची सडकदेखि बच्नु पर्दछ अन्यथा  सवारीसाधन थर्किनबाट जोगिनु पर्छ।धेरै हावालागेर विरुवाहरुको चिस्यान सुकेर विरुवा मर्ने हुन्छ ।अतयब लामो दुरीमा विरुवा ढुवानी गर्दा ठाँउ ठाँउमा सवारी साधनहरु रोकेर पानि सिञ्चन गर्दै ढुवानी गर्नु पर्दछ । 
  • नर्सरीदेखि वृक्षरोपण स्थलसम्म बिरुवा ढुवानी गर्दा, सवारीसाधनमा राख्दा, झार्दा र वृक्षरोपण स्थलमा राख्दा विशेष सावधानी अपनाई उचित हेरचाह गर्नुपर्दछ।
  • पोलिब्यागको माटो कडा  हुनु हुँदैन र  नियमित रूपमा पानी हाल्नु पर्छ।
  • बिरुवा सुरक्षित र छाँयामा राख्नु पर्दछ र सम्भव भएसम्म बिरुवा समतल भूमिमा ठाडो पारेर राख्नुपर्दछ।

वृक्षरोपण

  • बिरुवा ढुवानी गरिसके पश्चात सकेसम्म चाँडो रोप्नुहोस्। ढुवानी र वृक्षरोपण बीचको समय धेरै हुनु  हुँदैन।
  • बिरुवा (पोलिब्यागहरू / कलमी  वा ठूलो आकारको बिरुवाको झोलाहरू) खाडल छेउमा ठाडो पारेर राख्नुपर्दछ।
  • रोप्ने विधि बिरुवाको प्रकारमा निर्भर गर्दछ जस्तै पोलिपटको बिरुवा वा  रुट सुट कटिङ गरिएको  बिरुवा वा  माटो रहित जरा भएको बिरुवा वा कलमी बिरुवा।
  • यदि पोलिपट बिरुवाहरू पहिले खनेको खाडलमा रोप्नुपर्ने भएमा पोलिपट बराबर पहिले भरेको खाडलमा सानो प्वाल बनाउन कुटो प्रयोग गर्नु पर्छ। माटोमा बोटबिरुवा रोप्न पर्याप्त हुने गरी वा अलि गहिरो गरी ठाँउ बनाउनु पर्दछ। 
  • त्यसपछि  धारिलो चक्कु वा व्लेडले विस्तारै पोलिब्याग लाई एकातर्फबाट चिरेर हटाउने । त्यसपछि घुम्रिएको जराहरु  भएमा तिनलाई हटाउन माटोको ढिक्काको पीँधबाट दुई सेन्टिमिटर जति काटिन्छ प्वाकलमा राखिन्छ ताकि जरा खाडलको सतहमा होस्। यदि प्वाकल धेरै गहिरो नभएमा यसलाई गहिरो पार्नु पर्छ, यदि धेरै गहिरो भएमा यसलाई अलिकति माटो हालेर पुरिदिनुपर्छ।
  • बिरुवालाई ठाडो पारेर राखिन्छ र त्यसपछि यसको वरिपरि अलिअलि गर्दै माटो भरिन्छ, र  प्रत्येक पटक माटो राखेपछि बिरुवाको वरिपरि औंलाले थिचिन्छ।
  • जब प्वाकल पूर्ण रूपमा भरिन्छ, पूरै बिरुवालाई खुट्टाले वरिपरि खाँदेर अझ मजबुत पारिन्छ।
  • बिरुवा रोप्ने कार्य सम्पन्न भएपछि बिरुवाको वरिपरिको माटोलाई वरपरको भू-सतह भन्दा थोरै अग्लो पार्नुपर्छ ताकि वर्षाको समयमा अनावश्यक पानी नरहोस् र बिरुवा हातले बिस्तारै तानेर सार्न असम्भव होस्। निम्न लिखित महत्त्वपूर्ण बुँदालाई ध्यान दिनुपर्दछ।
  • पोलिव्याग हटाउनु पर्छ।
  • बिरुवाको वरिपरि माटोको सिलिन्डर यथावत हुनुपर्दछ।
  • बिरुवाको जराका वरिपरि माटोसँग एउटै सतहमा हुनुपर्दछ, र निश्चय नै उच्च हुनु हुँदैन।  
  • बिरुवा रोपिसके पछि जमीनमा स्थिर हुनुपर्छ।
  • अग्ला बिरुवाहरू सिधा ठाडो पार्न डोरी सहितको एउटा लट्ठीले टेको दिनुपर्छ।  
  • वृक्षरोपण पछि प्लास्टिकको झोलाहरू पुनः प्रयोगका लागि सङ्कलन र व्यवस्थापन गरिनुपर्दछ। अन्यथा, यो वातावरणको संरक्षणको लागि सावधानीपूर्वक व्यवस्थित गरिनु पर्छ।

बिरुवाको संरक्षण एवं हेरचाह

  • वृक्षरोपण स्थलको विशेषताहरू र वृक्षरोपणको मौसमको आधारमा  पानी र सिँचाइ सुविधा उपलब्ध हुनुपर्छ र नियमित पानी हाल्नु पर्छ।
  • मनसुनमा गरिने वृक्षरोपणमा पानी हाल्नु पर्दैन। मनसुन पूर्व र मनसुन पछि पानी तथा सिँचाइको व्यवस्थापन सँगै वृक्षरोपण गरिनु पर्छ।
  • वृक्षरोपण स्थल चरन र आगलागीबाट जोगाउनुपर्छ। 
  • नियमित रूपमा गोडमेल गरिनु पर्दछ।
  • सहरी क्षेत्रमा नियमित रूपले मल र माटोको हेरचाह अति आवश्यक छ। सामान्यतया, वर्षमा एक पटक यस्तो गर्नुपर्दछ। 
  • कामको पात्रो तयार गर्नुपर्दछ। यसलाई हेरचाह योजना पनि भनिन्छ।
  • मनसुनमा वृक्षरोपण गरेको एक वा दुई महिनापछि पोषण प्रतिस्पर्धा कम गर्न बिरुवाको वरिपरि गोडमेल आवश्यक छ।
  • कहिलेकाहीँ बिरुवा वरिपरिका अनावश्यक बोटबिरुवाहरूले बाधा पुर्‍याउन सक्छन् त्यसैले जाडो मौसम सुरु हुनुभन्दा अघि गोडमेल गर्नुपर्छ। सुख्खा मौसम र जाडो मौसममा चिसोको  प्रभावबाट बचाउन र चिस्यान कायम राख्न गोडमेल गर्नु हुँदैन।  
  • वन वा वनस्पति उद्यानका प्राविधिकसँग परामर्श लिएर सुकेका,अस्वस्थ, कमजोर हाँगाबिँगा हटाउने,   छाँटकाँट र छाँटछुँट पार्ने काम उचित तरिकाले गर्नुपर्दछ।
  • सहरी क्षेत्रमा, बिरुवा  सजाउनु पर्छ, र उचित ट्री गार्ड वा ट्री ग्रेटले बिरुवाको संरक्षण गर्नुपर्दछ।
  • ट्री गार्ड  र ग्रेट यस्तो तरिकाले निर्माण गर्नुपर्दछ जसले सहरमा पैदल यात्रुलाई हिँड्न सजिलो बनाउँदछ।
  • बिरुवा बढ्ने अवधिमा डाँठ र हाँगाको आकार अनुसार ग्रेट तयार गर्नुपर्दछ।
  • बिरुवा  रोपेको ठाउँमा माटो र अन्य संरचनाहरूमा बाधा नपुगेमा र पैदल यात्रु हिँड्ने ठाउँमा ग्रेटहरू निर्माण र जडान गरिएमा सहरको सौन्दर्यलाई कायम राख्न सकिन्छ।