Let’s Build Your City

Rishing Photo Exhibition

ऋषिङ्ग गाउँपालिकाको ८ वटा वडामा स्टोरी क्याम्प र म्यापअप क्याम्प गरी त्यस वडाको विविध सम्भावना र चुनौती संकलन गर्दा तीन विधाहरु कृषि, पर्यटन र कला-संस्कृतिमा वर्गीकरण गरी ती विधाहरुलाई गहिराइमा बुझ्न सहज बनाउन यो ऋषिङ्गको भर्चुवल फोटो प्रदर्शनी गरिएको हो।

कृषि प्रणाली

कृषि व्यवसाय तथा पशुपालन गर्ने कृषकहरूलाई निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी कृषि प्रणालीतर्फ रूपान्तरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको छ।

पर्यटन

स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेको हुनाले यस क्षेत्रलाई ऋषिङ्ग क्षेत्रको रूपमा चिनिने गरिन्छ। साथै नेपाल स–साना बाईसे चौबिसे राज्यमा विभाजन भएको बेलामा कोटदरबारमा मुनि मुकुन्द सेनका भतिजा समसेनले राज्य गरेको कारणले कोटदरबार नाम रहन गएको किंवदन्ती छ । यसै किवंदन्ती अनुसार यस गाउँपालिकाको नाम ऋषिङ्ग गाउँपालिका राखिएको अनुमान लगाउन सकिन्छ । यसरी यस गाउँपालिका भित्र भिर्कोट दरवार, गडगडेश्वर मन्दिर, दुबुङ्गको कोट र दरवार लगायत विभिन्न मठ मन्दिरहरू तथा गुफाहरू रहेका छन् । ऐतिहासिक पुरातात्विक सम्पदाहरूको संरक्षण, सम्बर्धन एवम् प्रचारप्रसार गरिएको छ।

कला-संस्कृति

स्थानीय संस्कृति संरक्षण तथा सम्बर्धनमा समुदायको सहभागितालाई अभिवृद्धि गरेर कौरा नाँच, सोरठी नृत्य, झ्याउरे, पञ्चेबाजा, लाखेनाच, मारुनि नाँच लगायतका विशिष्ट साँस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बर्धन एवम् प्रचार प्रसारका लागि बिशेष पहल गरिएको छ ।

Culture of Simrangadh

सिम्रानगढको ऐतिहासिक स्थलहरू

सिम्रौनगढ

एघारौँ शताब्दीमा  अस्तित्वमा आएको राज्य हो, सिम्रौनगढ । हालः बारा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सिम्रौनगढ राज्य चौधौँ शताब्दीको पूवाद्र्धसम्म कला, संस्कृतिले सम्पन्न थियो । कर्णाटवंशी नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई राज्य स्थापना गरेका थिए । हाल यो क्षेत्र बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिव २२ किलोमिटर दक्षिणपूर्वमा पर्दछ । यो गढ क्षेत्रभित्र कोटवाली, लक्ष्मीपुर, भगवानपुर, देवापुर, हरिहरपुर, कर्चोवा, अमृतजंग र गोलागञ्जसहित केही साना गाउँहरु पर्दछन् । यो किल्ला उत्तरमा कोतवालीहुँदै श्रीनगर, नयकाटोला, खजहनी, झमरीलगायत गाउँहुँदै दक्षिणतर्फ नेपाल भारत सीमासम्म पुग्दछ । यद्यपि, सिम्रौनगढ क्षेत्रले भारतको चम्पारन, मजफरपुर, दरभङ्गा, भागलपुर र पूर्णियालगायत जिल्लाहरु पर्दछन् । बारा जिल्लाले सिम्रौनगढ नगरपालिका नामाकरण गरेर इतिहासको सम्मान गरेको छ । सिम्रौनगढ राज्यको अन्तिम राजा हरिसिंह देव हुन् ।


कङ्काली

शिखर शैलीको कङ्काली मन्दिर सिम्रौनगढको मुख्य बजार क्षेत्रमा रहेको छ । सो क्षेत्रकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको कङ्काली माईको मूर्ति केही खण्डित तर मर्मत गरिएको अवस्थामा रहेको छ । मन्दिरको भित्री भागमा रहेको काला पत्थर मूर्ति मूर्तिकलाको अनुपम नमूनाका रुपमा रहेको छ । सिम्रौनगढ राज्यमाथि १३ औँ शताब्दीमा भएको इस्लामिक आक्रमणबाट ध्वस्त भएको हो ।सुरुसुरुमा कङ्काली देवीलाई पशु बलि दिने प्रचलन रहेको थियो । पशु बलिपछि मन्दिर वरपर नै गाड्ने प्रचलन रहेको स्थानीय बताउँछन् । तुर्कहरुको आक्रमणपछि खण्डहर भएको सिम्रौनगढमा निकैपछि मानिसहरुको बसोबास हुन थाल्यो । त्यही क्रममा आएका मनसाराम बाबाले मन्दिरलाई व्यवस्थित गराएका थिए । सोही क्रममा उत्खनन् गर्दा राँगाका कङ्काल प्रसस्त मात्रामा पाइएको बताइन्छ । त्यही बेलादेखि नै सो मन्दिरलाई कङ्काली भन्न थालियो भन्ने भनाई रहेको छ । मनसाराम बाबा स्वयं वैष्णव भएकाले उनैले बलिको सट्टा सात्विक भोग चढाउने परम्परा चलाएका थिए । यस मन्दिरको पूर्वतर्फ प्राचीन घण्टा रहेको छ । सो घण्टामा लं.सं ११९ अर्थात् विक्रम सम्वत् १३४९ उल्लेख गरिएको छ । घण्टा केही टुटफुटको अवस्थामा देखिन्छ । सो मन्दिर क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका मूर्ति तथा वस्तुहरु यत्रतत्र छरिएर रहेका छन् । तिनको समुचित संरक्षणमा ध्यान दिन आवश्यक देखिन्छ ।


मनसाराम बाबाको समाधी/आश्रम:

कङ्काली मन्दिरको दाहिनेतर्फ इसरा तलाउ नजिक मनसाराम बाबाको समाधीस्थल रहेको छ । समाधी स्थललाई गुम्बज शैलीको मन्दिरभित्र संरक्षण गरिएको छ । जहाँ पहिला मनसाराम बाबाले अखण्ड धुनी बाल्ने गर्नुहुन्थ्यो । त्यही नै उहाँको समाधी गरिएको स्थानीय बताउँछन् । समाधीस्थलको केन्द्रीय भागमा केही उठेको जमिन देख्न सकिन्छ । त्यहाँ बाबाको खराउ समेत रहेको छ ।


इसरा तलाउ

कङ्काली देवीको मन्दिरको पूर्वमा विशाल तलाउ रहेको छ । यो करिव आठ विगाह जमिनमा फैलिएको छ । यो तलाउ सिम्रौनगढका राजा शिवसिंह (सिबैसिंह) ले आफ्नी प्रेयसी इसराको लागि एक असुरले एकै रातमा तयार पारेको किंम्बदन्ती यहाँ प्रचलित छ । पोखरीको पश्चिम दक्षिण किनारामा १६ ह१९ ह ७ इन्चका इँटाले घाट निर्माण गरिएको छ । तलाउको पश्चिम तर्फको खुला चौरमा हाटबजार र छठमा मेला लाग्ने गरेको छ । देख्दैमा सुन्दर तलाउमा ठेक्काबाट व्यवसायिक माछा पालनसमेत गरिएको छ । यस्तो ऐतिहासिक तलाउमा ठेक्काबाट माछा पाल्नुभन्दा डुँगा सयर गराएर पर्यटकीय आकर्षणका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।


पार्वती मन्दिर

कङ्काली मन्दिर परिसरमा पार्वती मन्दिर रहेको छ । इसरा तलाउ नजिक रहेको यो मन्दिरभित्र कालो पत्थरको आकर्षक मूर्ति रहेको छ । तर, केही खण्डित मूर्तिलाई मर्मत गरी पूजाआजा गरिदै आएको छ ।


शिव मन्दिर

कङ्काली मन्दिर परिसरमा शिव मन्दिर रहेको छ । मनसाराम बाबाको मन्दिरकै लहरमा रहेको शिव मन्दिरमा तीनवटा शिवलिङ्ग लस्करै राखिएका छन् ।


विष्णु मन्दिर

कङ्काली मन्दिरको देब्रेतर्फ विष्णुको मूर्तिसहितको मन्दिर रहेको छ । मनसाराम बाबाको समाधिस्थलसँगै दाहिने घुँडा टेकेको र नमस्कार गरेको अवस्थामा विष्णुको मूर्ति रहेको छ । यो मूर्ति पनि केही खण्डित अवस्थामा छ ।


ईनार

कङ्काली मन्दिर परिसरको देब्रेतर्फ ऐतिहासिक ईनार रहेको छ । विष्णुको मन्दिरको दक्षिणतर्फ रहेको यो इनार प्रयोग विहीन अवस्थामा छ । यसको संरक्षणसहित खोज अनुसन्धान आवश्यक छ ।


भैरव

खण्डित अवस्थामा रहेको छ । स्थानीयहरु यो मूर्तिको खण्डित रुपलाई भैरव भन्ने गर्दछन् । यो मन्दिर कङ्काली मन्दिर  परिसरमा इनारकै लहरमा रहेको छ ।


रनिबास

कङ्काली मन्दिरबाट करिव डेढ किलोमिटर पश्चिममा रनिबास मन्दिर रहेको छ । यो अलि उच्च स्थानमा रहेको छ । त्यस हिसावले सिम्रौनगढको राजाप्रसाद भएको सङ्केत गर्छ । यस मन्दिरका वरपर प्राचीन भग्नावशेषका साथै पुरातात्विक महत्वका सामग्री (माटाका खवटा, भाँडा, मूर्ति, मुद्रालगायत) पाइने गरिएको स्थानीय बताउँछन् । मन्दिरको पश्चिमतर्फको कुनामा (मन्दिरलाई घेरिएका सत्तलभित्रै) पुरातात्विक इनार समेत रहेको छ । त्यस्तै, मन्दिर प्रवेशको पूर्वतर्फको द्वारको दाहिनेतिर पनि पुरानो इनार रहेको छ । मन्दिर वरपर खण्डित मूर्तिहरु यत्रतत्र रहेका छन् । सो मन्दिरको पश्चिमतर्फ सुन्दर कमलपोखरी रहेको छ । पोखरी संरक्षणको अभाव देखिन्छ । पोखरीको छेवैमा रहेका धाराको केही अवशेष मात्र बाँकी छन् ।  शिकार खेल्न जाने क्रममा श्री ३ जङ्गबहादुर राणा सो स्थानमा पुगेका थिए । केही अग्लो स्थान भएकाले शिकार क्याम्प सोही स्थानमा बनाउने क्रममा दरबार र मन्दिरको भग्नावशेष पाइएको इतिहासविद्हरु बताउँछन् । शिकारकै क्रममा जङ्गबहादुर राणाको निधन भएपछि छोरा जीतजङ्गले बुबाको सम्झनामा राम मन्दिर निर्माण गराएका थिए । राम मन्दिरभित्रै राम सीताको मूर्तितिर फर्काएर जङ्गबहादुर र रानीहरुको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ । मन्दिरको वरिपरी सत्तलसमेत निर्माण गरी गुठीको व्यवस्था गरिएको थियो । तुर्क आक्रमणबाट ध्वस्त सिम्रौनगढको उत्खनन् गरी सो मन्दिर निर्माणका क्रममा प्राप्त मूर्तिहरुलाई मन्दिरको  बाहिरी भाग र वरपर स्थापित गरिएको बताइन्छ । मन्दिर बाहिरको चौघेरा सत्तलको दक्षिणतर्फको द्वारसँगै रहेको सिंहको अगाडि चालिस वर्षअघिसम्म एउटा शिलालेख रहेको स्थानीय बताउँछन् । त्यो शिलालेखमा नान्यदेवले राजधानी यही थलोमा बनाएको श्लोक कुँदिएको थियो भन्ने भनाई स्थानीय पाका व्यक्तिहरुको छ ।रनिबास मन्दिरको दक्षिणतर्फ हात्तीसार समेत रहेको छ । जीर्ण अवस्थामा रहेको यो हात्तीसार राणाकालीन समयमा निर्माण गरिएको थाहा पाउन सकिन्छ । भग्नावशेष अवस्थामा रहेको यो हात्तीसारको मर्मत गरी प्रयोगमा ल्याउन सकिन्छ ।


भवन

सिम्रौनगढ नगरपालिकाको निर्माणाधीन भवन । इशरा तलाउको दक्षिणतर्फ भवन बन्दै गरेको छ ।


हरिहरपुर

कङ्काली मन्दिरबाट करिव एक माइल पश्चिमोत्तर दिशामा हरिहरपुर गाउँ पर्दछ । यहाँ पुरातात्विक महत्वका भग्नावशेषहरु अहिले पनि देख्न सकिन्छ । केही अग्लो ढिस्कोमा विदेशी विज्ञहरुको सहयोगमा केही वर्षअघि पुरातत्व विभागले उत्खनन् समेत गरेको थियो । इँटहरुको पर्खाल देखिने ढिस्कोमाथि उत्खनन्को खाल्टो अहिले पनि रहेको छ । जहाँबाट कलात्मक ढुङ्गे स्तम्भ (थाम) भेटिएको थियो  । जसलाई सोही स्थानमा प्रतिस्थापन गरिएको छ । स्थानीयले भनेअनुसार भक्तपुरमा स्थापित तलुजा भवानी हरिसिंह देव भाग्ने क्रममा यहिँबाट लिएर गएका थिए ।


बाकस

हरिहरपुर क्षेत्रमा उत्खनन्कै बेला फेला परेको एउटा कलात्मक पत्थर रहेको छ । स्थानीयहरु त्यसलाई ढुङ्गाको बाकस वा तिजोरी समेत भन्छन् । वास्तवमा यो कुनै मन्दिरको ढोकाको ढुङ्गे सङ्घारजस्तो लाग्छ । यो ठाउँमा कतै खन्यो भने झुण्डका झुण्ड भँवरा निस्कन्छन् । त्यसैले यो स्थललाई तुलजा (तलेजु) भवानीको खण्डहर हो भनेर स्थानीयले भन्ने गरेका छन् । यो ढुङ्गाको बाकस चोरी गर्न आउनेहरुलाई नागले डसेर मारेका किम्बदन्तीहरु समेत स्थानीय सुनाउँछन् ।


खजहनी

यो गाउँ रनिबासबाट करिव एक किलोमिटर दक्षिणमा पर्दछ । कर्णाटवंशी राजाहरुले खजाना राख्ने ठाउँ भएकाले यस ठाउँको नाम खजहनी भएको जनविश्वास पाइन्छ । केही वर्षअघि एकजना किसानले कूलो खन्ने क्रममा एक मन जति सुन भेटेपछि त्यो लिएर भारत पसेको स्थानीय बताउँछन् । सो क्षेत्रमा माछा पोखरी खन्ने क्रममा केही न केही पुरातात्विक बस्तु तथा मूर्तिहरु अहिले पनि भेटिने गरिएको छ । खजहनी गाउँको वरपर विष्णु, शिव र दुर्गाका मूर्तिहरु पनि विगतमा भेटिएको स्थानीय बताउँछन् ।


कोतवाली

सिम्रौनगढको उत्तरमा रहेको कोतवाली केही उच्चा स्थानमा छ । सिम्रौनगढको सुरक्षाका लागि माटोको अग्लो ढिस्को बनाइएको स्थानीय बताउँछन् । यो कोतको टुप्पाबाट हेर्दा सिम्रौनगढको वरपर देख्न सकिन्छ । यो करिव एक सय मिटर ब्यास र १५ मिटर जति उचाईमा रहेको छ । जनश्रुतीअनुसार कर्णाटवंशी राजाहरुको कोटपाल रहने भएकाले यो थुम्कोलाई कोतवाली भनिएको हो । यो ढिस्कोमा इँटा, झिँगटी र पोलेका माटोका ठूलठूला गोलाहरु पाइने गरेको स्थानीय बताउँछन् । पर्खालले घेरिएको यो थुम्कोको उत्तरतर्फ इनार रहेको छ । थुम्कोको पूर्वतर्फ शिवलिंगसहित उमामहेश्वरको खण्डित मूर्ति रहेको तर अहिले त्यो पनि हराइसकेको स्थानीय बताउँछन् ।


सुरक्षा पर्खाल

कङ्काली देवीको मन्दिर अगाडि इसरा तलाउ छ । त्यसको पूर्व दक्षिणतर्फ सिम्रौनगढको सुरक्षा घेराका रुपमा माटैमाटोको उच्च ढिस्को रहेको छ । यो उत्तर दक्षिण फैलिएको  छ । यसलाई स्थानीयहरु तण्डुल पर्वत समेत भन्दछन् । सो स्थानमा खोस्रेर हेर्दा डढेको कालो चामल पाउन सकिन्छ भन्ने भनाई छ । यसरी डढेको चामलको क्षेत्र धेरैतिर फैलिएको बताइन्छ । रनिबास मन्दिर नजिकको प्रहरी चौकी निर्माणका क्रममा दुई फिट तल खन्दा समेत डढेको चामल पाइएको बताइन्छ ।