गुलमोहर

1 year ago

Delonix regia (Bojer ex Hook.) Raf.
अङ्ग्रेजी नाम: Flame tree / Flame of forest / Flamboyant Tree 
परिवार: Fabaceae

उत्पत्तिस्थल र फैलावट
गुलमोहर मडागास्करको सुख्खा पतझर वनको रैथाने वनस्पति हो तर यो वनस्पति विश्वव्यापी रूपमा उष्ण एवं उपोष्ण क्षेत्रहरूमा लगाइएको छ। गुलमोहर वनमा लोपोन्मुख अवस्थामा छ, तर यो अन्य ठाउँमा व्यापक रूपमा खेती गरिन्छ र हुर्काइएको धेरै ठाउँहरूमा प्राकृतिक मानिन्छ। यो संसारभर रोपिएको छ। नेपालमा, यो तराई, शिवालिक, र दून उपत्यकामा १००० मिटर उचाइ सम्ममा पाउन सकिन्छ।  

विवरण
परिपक्व अवस्थामा उचाइः यो १० देखि १८ मिटर अग्लो हुने, २ मिटर सम्मको व्यास हुन सक्ने ठूलो मजबुत काण्ड सहितको रूख हो।

आकारः गुलमोहर छाता आकारको छिटो बढ्ने रूख हो, फैलिएको वृक्षछत्रको लामो, लगभग तेर्सो हाँगाहरूले रूखको उचाइ भन्दा फराकिलो व्यास बनाउँछन्। गुलमोहर सामान्यतया सदाबहार वनस्पति भएतापनि लामो र उल्लेखनीय सुक्खा मौसम हुने क्षेत्रहरूमा पतझर हुन्छ।  

फूल र फूल फुल्नेः रोपण गरेको ४–५ वर्षपछि अप्रिल–जुनमा फूल फुल्न थाल्छ।

वन संवर्द्धन विशेषताहरू

खेतीः गुलमोहर औसत वार्षिक तापमान १४–२६ डिग्री सेल्सियसको बीचमा रहने र औसत वार्षिक वर्षा ७०० मिमि  भन्दा माथि हुने क्षेत्रहरूमा बढ्छ। यो अधिक र कम वर्षा हुने दुवै क्षेत्रहरूमा फस्टाउन सक्छ। रूखहरू सिफारिस गरिएको भन्दा उच्च उचाइमा बढ्न सक्छन्, तर फूलहरू अनियमित हुन्छन् । केही क्षेत्रहरूमा रोपिएका बिरुवाहरू मिचाहा हुन सक्ने चिन्ता छ। रूखको जरा जमिन बाहिर हुने र काठ कमजोर हुन्छ; त्यसकारण ती ठूलो आँधीबेहरीको समयमा उखेलिने र कडा हावाले भाँचिने हुन्छन्, र त्यसैले सुरक्षित स्थानहरूमा राम्रोसँग रोपिन्छन्।  

माटोः रूखले उज्यालो खोज्छ र छायामा कमजोर रूपमा र विरलै मात्रामा बढ्छ। यस प्रजातिले चिम्ट्याइलो माटोदेखि बालुवासम्म धेरै प्रकारका माटोहरू सहन सक्ने देखिएतापनि यसले बलौटे माटोलाई प्राथमिकता दिन्छ। यसलाई ५.५–६.५ को बीचको पिएच हुनुपर्छ, तर ४.५–७.५ पिएच सम्म हुर्कन सक्छ। परिपक्व बिरुवाहरू अत्यन्त सुक्खा सहनशील हुन्छन्।

प्रसारण र वृक्षरोपण
बीजको कडा आवरण हुन्छ र अङ्कुरणको लागि लामो समय लाग्छ। यो अङ्कुरण नभई माटोमा २–३ वर्ष रहन सक्छ र सामान्यतया अङ्कुरण हुन दुई हप्ता देखि एक वर्षसम्म लाग्न सक्छ। यस सुषुप्ति तोड्नको लागि बीजको आवरण भ्रूणलाई नोक्सान नहोस् भनेर सावधानीपूर्वक रगडेर मुलायम बनाउन जरुरी छ। वैकल्पिक रूपमा, बीज पकाउनु अघि पानी सेलाउने सुनिश्चित गर्दै बीज माथि लगभग उम्लेको थोरै पानी हाल्नु पर्छ त्यसपछि बीज रोप्नु भन्दा पहिले तातो पानीमा १२–२४ घण्टा भिजाउनु पर्छ। प्रशोधन गरिएका बीजहरू छाया नपर्ने नर्सरी ब्याडमा छरिएपछि, ती ९०% सम्म अङ्कुरण दर सहित ५–१० दिन भित्र अङ्कुराउँछन्। नर्सरीमा त्यस पछिको वृद्धि एकदम तीव्र हुन्छ। नियमित रूपमा पानी हालिएका र गोडमेल गरिएका बिरुवाहरू वर्षाको मौसममा सारिन्छन्, नर्सरीमा कुल ३–५ महिनाको समय लाग्छ। बिरुवाहरू ९ महिना भन्दा बढी राख्नु वाञ्छनीय हुँदैन, किनकि ती धेरै अग्लो हुन्छन्, तर बिरुवाहरू २०–२५ सेन्टिमिटर अग्लो हुँदा पनि सार्न सकिन्छ। यदि कीराको आक्रमणबाट जोगाउन सकेमा बीज  लामो समय सम्म भण्डारण गर्न सकिन्छ, यसको लागि बीजमा खरानी थपेर भण्डारण गर्न सकिन्छ। बीज भण्डारण विधि परम्परागत हो र कोठाको तापक्रममा नौ वर्षको भण्डारण पछि अङ्कुरण दर ४७% रेकर्ड गरिएको छ। भण्डारण पछिको चार वर्ष जीवन क्षमतामा कुनै क्षति पुगेन। रूखहरू हाँगा काटेर पनि प्रसारण गर्न सकिन्छ।  

उत्पादन र प्रयोग
यस वनस्पतिको पात, फूल, बीज र बोक्रामा औषधीय रूपमा सक्रिय विभिन्न प्रकारका यौगिकहरू हुन्छन्, यद्यपि पातहरू सामान्यतया यी यौगिकहरूको सबैभन्दा प्रचुर स्रोत हुन्। वनस्पति एन्टी ब्याक्टेरियल, मधुमेह रोधक, पखाला रोधक, एन्टी फंगल, एन्टी इन्फ्लामेटरी, एन्टी मलेरियल, एन्टी माइक्रोबियल, एन्टी अक्सिडेन्ट, कार्डियो प्रोटेक्टिभ, ग्यास्ट्रो-प्रोटेक्टिभ, हेपाटो– प्रोटेक्टिभ र घाउ निको पार्ने गुण भएको बताइन्छ। यसको उपयोग परम्परागत चिकित्सामा कब्जियत, सूजन, बाथरोग, मधुमेह, निमोनिया, र मलेरिया सहित विकारहरूको उपचारको लागि गरिन्छ।

सहरी/कृषि वन उपयोग
एक अग्रणी प्रजातिको रूपमा प्रयोगको लागि उपयुक्त, रूख क्षतिग्रस्त भूमिको पुनर्स्थापना र वन पुनर्स्थापनाको लागि रोप्न सकिन्छ। घरपालुवा जनावरहरूले नखाने भएकोले, यो अति चरन भएका क्षेत्रहरूको पुनः वनीकरणको लागि उपयुक्त हुन सक्छ।

थप अध्ययन
Chou, C. H., & Leu, L. L. (1992). Allelopathic substances and interactions of Delonix regia (BOJ) Raf. Journal of Chemical Ecology18(12), 2285-2303.
Nepali, B. R., & Gyawali, Y. P. (2001). Impact of Dust Pollution on Some Roadside Flora in Butwal Town, Western Nepal. Nepal Journal of Science and Technology, 3(1).
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu

Share :