उचाइमा व्यापक भिन्नता, हिमाली भू-दृश्य, विविध वर्षा र सम्बद्ध जलवायु परिवर्तनका कारण नेपाल जैविक विविधतामा धनी छ। उचाइ र भूगोल वनस्पति प्रजातिहरूको समृद्धि र उपलब्धताका लागि मुख्य निर्धारकहरू हुन्। भौगोलिक हिसाबले नेपाल तराई र शिवालिक (प्राय: १,००० मिटर भन्दा तल), मध्य पहाडहरू (१,००० देखि ३,००० मिटर ), र अग्ला पहाड र हिमालहरू (३,००० मिटर माथि) मा विभाजित छ। एउटा भौगोलिक क्षेत्रमा राम्ररी बढ्ने वनस्पति अर्को भौगोलिक क्षेत्रमा राम्रोसँग बढ्न सक्दैनन्। उदाहरणको लागि, राजवृक्ष तराईमा राम्ररी बढ्छ तर काठमाडौंमा सायद बाँच्न सक्दैन।
यसैले बिरुवा छनोटको लागि हाम्रो पहिलो मापदण्ड उचाइ र भूगोल थियो: हामीले बिरुवाहरूको एक सूची तयार गरेका छौं जुन खास भौगोलिक क्षेत्रको रैथाने हुन्। रैथाने प्रजातिहरूका अतिरिक्त केही गैर-रैथाने प्रजातिहरू सहरी सडक किनारामा र सहरी पार्कहरूमा बर्षौदेखि रोपेर हुर्किएका स्थानीय हावापानीमा राम्ररी अनुकूलित भैसकेका छन् त्यस्ता प्रजातिहरु पनि सूचीमा समावेस गरिएको छ । । हामीले विशेषगरी रैथाने प्रजातिहरू नै रोपण गर्नको लागि सुझाव दिएका छौं ।
दोस्रो मापदण्डमा सहरी वृक्षरोपणका लागि छानिएका बिरुवाहरूका प्रजातिहरू हेर्दा पनि राम्रो तथा शोभायमान हुनु आवश्यक छ, अर्थात्, आकर्षक फूल हुनुपर्दछ र ती लामो समयसम्म फुल्ने हुनुपर्दछ। यसको अलावा सदाबहार तथा फूलहरु पनि धेरै लामो अवधिसम्म बोटमा नै रहि रहने हावापानी अनूकूल हुने प्रजातिहरुलाइ सूचिमा समावेस गर्ने जमर्को गरिएको छ ।
तेस्रो मापदण्ड बिरुवाको आकार हो। दुई सडकको बीचमा रोपिने बिरुवाहरू अग्ला वा झाङ्गिने खालको हुनु हुँदैन । हामीले त्यसपछि सडक किनारामा वा सडक बीचमा वा सार्वजनिक उद्यानमा कुन बिरुवाहरू रोपिनु पर्दछ भन्ने आधारमा प्रजातिहरू चयन गर्यौं। सडक बीचमा रोप्नको लागि चयन गरिएका बिरुवाहरू धेरै अग्ला हुनु हुँदैन र झाँगिने पनि हुनु हुँदैन। सडक किनारामा रोपिने बिरुवा अग्ला र सुरिला हुन सक्छन्। त्यस्तै सार्वजनिक उद्यानमा कुनै पनि आकारको शोभायमान रैथाने बिरुवाहरू हुर्काउन सकिन्छ।